उखुको भुक्तानी माग गर्दै काठमाडौंमा कपिलवस्तुका किसानको धर्ना

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
उखुको भुक्तानी माग गर्दै काठमाडौंमा कपिलवस्तुका किसानको धर्ना

काठमाडौं । आठ वर्षअघि बिक्री गरेको उखुको पैसा नपाएको भन्दै कपिलवस्तुका किसान एक सातादेखि काठमाडौंमा धर्नामा छन् । तर आफ्ना माग सुनुवाइमा अहिलेसम्म कसैले चासो नदेखाएको गुनासो उनीहरुले गरेका छन् ।

वीरेन्द्र कनोडिया सञ्चालक रहेको महालक्ष्मी सुगर मिलले अनुदानको करिब साढे दुई करोड रुपैयाँ हिनामिना गरेको आरोप किसानहरुको छ । २०७२ सालमा ४६१ रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण हुँदा किसानलाई सरकारले २५ रुपैयाँ अनुदान दिएको थियो । तर किसानको पैसा नदिई मिल कपिलवस्तुबाट सर्लाही सरिसकेको छ । किसानहरुले भने साढे दुई करोड रुपैयाँ वितरण नहुँदासम्म आन्दोलन जारी राख्ने कृषक उमेशप्रसाद चौधरीले जनाए ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने उद्योगीका नाममा गएको पैसाको रुजु गर्ने विषयमा अर्थ मन्त्रालयमा परिपत्र गरेको जनाएको छ । महालक्ष्मी सुगर मिलले उद्योगको खातामा पैसा नआएको जनाएको छ । २५ रुपैयाँ अनुदान कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानको बैंक खातामा गएको स‌ञ्चालक वीरेन्द्र कनोडियाले जानकारी दिए । समस्या समाधान गर्ने विषयमा उद्योग, अर्थ र कृषि मन्त्रालयबीच कुराकानी भएको कृषिमन्त्री वेदुराम भुसालको सचिवालयले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.