काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन बनिरहेका छन् । खुदी सबस्टेसनको आगामी ६ महिनाभित्रमा निर्माण सक्ने लक्ष्य छ । धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान सडकको पहुँच समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।
नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचना निर्माण पूरा भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् ।
नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मर रहनेछन् । खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरु रहनेछन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायत सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायत उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ ।