काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अवैध आयात नियन्त्रण गर्नका लागि राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले प्रभावकारी रुपमा संयुक्त बजार अनुगमन गर्न पनि निर्देशन दिए ।
सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बिहीबार दाहालले भने, ‘राजस्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’
उनले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालनको निर्देशन पनि दिए । ‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्,’ उनले भने ।
आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउन पनि प्रधानमन्त्रीको निर्देशन थियो । उनले छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन भन्दै अनुगमन बोर्डरमा मात्र होइन कि आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
छलफलमा अर्थसचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरूको उपस्थिति थियो ।
छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने जनाए ।