काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षामा आबद्ध गराउने योजना थालेको छ ।
यसरी वैदेशिक रोजगारीमा रहेका श्रमिकको लागि लागु गरिएको योजनाहरूमा हाल दुर्घटनाको उपचार खर्च र अशक्तता, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाहरू समावेश छन् ।
कसरी हुने आबद्ध ?
श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन (फेमिस सिस्टम) बाटै यस योजनामा आबद्ध हुन सकिने सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीकाअनुसार श्रम स्वीकृतिकै समयमा सोही प्रणालीबाटै विना झन्झट सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने व्यवस्था मिलाइएको छ ।
त्यसै गरी हाल विदेशमा रहिरहेका श्रमिकहरूले पनि विदेशबाटै पुन श्रम स्विकृती लिने समयमा सामाजिक सुरक्षामा योजनामा सहजै आबद्ध हुन पाउने छन् । यस योजनामा आबद्ध हुने प्रक्रियामा केही समस्या आए चौबिसै घण्टा अनलाइन सहायता प्रदान गरिने कोषले बताएको छ । भाइबर र ह्वाट्सएपबाट पनि सहायताको व्यवस्था मिलाइएको कोषको भनाइ छ ।
योगदान रकम कति ?
कोषकाअनुसार यस योजनाअन्तर्गत नेपाल सरकारले तोकेको आधारभूत तलबमानको आधारमा न्यूनतम २ हजार २ नेपाली रुपैयाँ संकलन गरिने छ । त्यस्तै २८ हजारसम्म योगदान रकम जम्मा गर्ने सकिने प्रावधान रहेको कोषका कार्यकारी निर्देशक ज्ञवाली बताउँछन् ।
उनी भन्छन्, 'मासिक जम्मा गर्न अफ्ठेरो पर्न सक्छ भनेर अग्रिम रूपमा पनि योगदान रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।' यसरी अग्रिम रूपमा योगदान रकम जम्मा गर्नेलाई छुट सुविधा पनि मिलाइएको उनको भनाइ छ ।
कसरी बुझाउने ?
यस सामाजिक सुरक्षा योजनामा आबद्ध हुने व्यक्तिले नेपालस्थित बैकमा रहेका खातामार्फत योगदान रकम बुझाउन सक्ने छन् । विदेशमा रहेर पनि त्यहाँस्थित नेपाली बैंक तथा रेमिट्यान्सका कार्यालयहरूबाट योगदान रकम बुझाउन सकिने छ ।
फाइदा के ?
यस योजनाअन्तर्गत हाल ४ वटा कार्यक्रम कार्यान्वयनमा रहेको कोषले जनाएको छ । जसमा दुर्घटनाको उपचार खर्चमा कोषले १ लाखसम्म प्रदान गर्ने छ । त्यस्तै शारीरिक रूपमा अशक्त भएको अवस्थामा यस योजनामा आबद्ध भएकाहरूले ९ हजार ३ सय ८५ को ६० प्रतिशतले हरेक महिनामा पेन्सन पाउने छन् ।
त्यसै गरी योजनामा आबद्ध व्यक्तिको निधन भएको खण्डमा आश्रित परिवारले मासिक ३ हजार ७ सय ५४ मासिक पाउने छन् भने छोराछोरीहरूले २१ वर्ष नपुग्दासम्म ९ हजार ३ सय ८५ को ४० प्रतिशतले रकम शैक्षिक वृत्ति स्वरूप पाउने छन् । यसका साथै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको सुविधा पाउने छन् ।