लुम्बिनीका अधिकांश शीतभण्डार प्रयोगविहीन, करौडौँ रुपैयाँ स्वाहा हुने खतरा (भिडियो रिपोर्ट)

चैत्र ४, २०७९ |माधव अर्याल |शमशेरविक्रम जीसी
लुम्बिनीका अधिकांश शीतभण्डार प्रयोगविहीन, करौडौँ रुपैयाँ स्वाहा हुने खतरा (भिडियो रिपोर्ट)

प्युठान । कृषि उपजको सुरक्षित भण्डारणका लागि लुम्बिनी प्रदेशमा बनाइएका अधिकांश शीतभण्डार प्रयोगविहीन छन् । प्राविधिक र दक्ष जनशक्ति नहुँदा करोडौँ लगानीमा बनेका दुई दर्जनभन्दा बढी शीतभण्डारको उपयोग हुन नसकेको हो ।

एक करोड १२ लाख रुपैयाँ लागतमा बनेको प्यूठानको माण्डवी गाउँपालिका देवीस्थानको शीतभण्डार एक वर्षदेखि बन्द छ । शीतभण्डारमा राखेका कृषिउपज उम्रिने, कुहिनेजस्ता समस्या देखिएपछि बन्द गरिएको शीतभण्डार सञ्चालन गर्न अहिले गाउँपालिकासाग जनशक्ति छैन ।

पाल्पाको रामपुरमा तीन करोड २६ लाख खेर्चेर शीतभण्डार बनेको छ । तर शीतभण्डार सञ्चालन गर्न दक्ष प्राविधिक नहुँदा त्यहाँ राखिएका वस्तु पनि कुहिने समस्या छ । प्यूठान नगरपालिकामा एक करोड १५ लाख रुपैयाँमा बनेको शीतभण्डार पनि प्राविधिक समस्याले सञ्चालन हुनसकेको छैन ।

रोल्पामा पनि दुईवटा शीतभण्डार बन्द छन् । सम्झौताअनुसारका मेसिनरी उपकरण नभित्रिएपछि प्रदेश सरकारले गंगादेव गाउँपालिकाको शीतभण्डारको भुक्तानी रोकेको छ । साढे पाँच करोडमा बनेको दहवनको शीतभण्डार पनि प्राविधिक समस्याकै कारण चल्न सकेको छैन । यसबाहेक पाल्पाको प्रभासमा १० वर्षसम्म पनि शीतभण्डार निर्माण पूरा भएको छैन । प्रदेशमा हाल सानाठूला दुई दर्जन शीतभण्डार बनेपनि आधा दर्जन पनि सञ्चालनमा छैनन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा २२ शीतभण्डार बनाउन गत वर्षमात्रै २५ करोड बढी रुपैयाँ खर्च भएको छ । उत्पादित कृषि उपजलाई किसानले सिजनमा भण्डारण गरेर राख्न र अफ सिजनमा राम्रो मूल्यमा बिक्री गर्न सकून् भनेर यस्ता शीतभण्डार बनेका हुन् । तर शीतभण्डार भरपर्दो नहुँदा उत्पादित कृषि उपजको सिजनमा जति भाउ आउँछ त्यतिमै बेच्न किसान बाध्य छन् ।

आवश्यकताको आधारमा भन्दापनि पहुँच र प्रतिस्पर्धाका लागि निर्माण गरिएका यस्ता शीतभण्डार एक वर्षपनि प्रयोगमा आउन नसक्नुले दीर्घकालीन लाभका योजना छनौटमा सरोकारवालाहरू चुकेको प्रष्ट भएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।

Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।