कर्मचारीमाथि आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थालाई भौतिक सुरक्षाको चिन्ता

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
कर्मचारीमाथि आक्रमण भएपछि बैंक तथा वित्तीय संस्थालाई भौतिक सुरक्षाको चिन्ता

काठमाडौं । देशका विभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमणका घटना बढ्न थालेपछि यस क्षेत्रका छाता संगठनहरुले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् ।

नेपाल बैंकर्स संघ, डेभलमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज (शुक्रबार) संयुक्त विज्ञप्ति जारी गर्दै यस्ता अराजक गतिविधि रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

उनीहरुले पछिल्लो समय केही व्यक्ति तथा समूहले बैंक, वित्तिय संस्था तथा लघुवित्त संस्थाका कर्मचारीमाथि लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तिमा जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायत क्षेत्रमा कर्मचारीमाथि आक्रमण र कार्यालयमा तालाबन्दी गरिएको उल्लेख गर्दै यस्ता घटना प्रोत्साहन गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

यस्ता घटना नरोकिएसम्म र कर्मचारीको सुरक्षा प्रत्याभूति नहुन्जेलसम्म बैंकिङ सेवा नै सञ्चालन गर्न नसक्ने अवस्था रहेको संयुक्त विज्ञप्तिमा जनाइएको छ । हिजो दिउँसो मात्रै म्याग्दीमा एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यालय सहायक प्रकाश आलेमाथि आक्रमण भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.