अमेरिकामा वित्तीय संकट चुलियो : फर्स्ट रिपब्लिक बन्द हुने अवस्थामा, ११ ठूला बैंकले दिए ३० अर्ब डलर

चैत्र ३, २०७९
अमेरिकामा वित्तीय संकट चुलियो : फर्स्ट रिपब्लिक बन्द हुने अवस्थामा, ११ ठूला बैंकले दिए ३० अर्ब डलर

वासिंटन । सिलिकन भ्याली बैंक वित्तीय संकटले बन्द भएपछि अमेरिकामा अर्को क्षेत्रीय बैंक-‘फर्स्ट रिपब्लिक’ बन्द हुने जोखिममा पुगेको छ । फस्ट रिपब्लिक बैंकको उद्धारका लागि ठूला बैंकहरु अग्रसर भएका छन् ।

जेपी मोर्गन एन्ड सिटी ग्रुप बैंकको नेतृत्वमा ११ वटा ठूला बैंकले फर्स्ट रिपब्लिकमा तरलता अभाव हुन नदिन ३० अर्ब डलर उपलब्ध गराएका छन् । बैंकिङ पद्धतिको अवस्थाबारे फैलिएको त्रास समाप्त पार्न ती बैंकहरुले सहयोगको हात अघि बढाएका हुन् ।

अमेरिकी नियमनकर्ताहरुले बैंकहरुको यस्तो कदमलाई अत्यन्त स्वागतयोग्य भनेका छन् भने सहयोगदाताहरुले यस कदमले बैंकिङ क्षेत्रप्रतिको विश्वासलाई प्रदर्शित गरेको जनाएका छन् । ठूला बैंकहरुले सहयोग गर्ने भनेपछि फर्स्ट रिपब्लिक बैंकको सेयर मूल्य एउटा विन्दुमा २० प्रतिशतसम्म बढेको र केही समयका लागि यसको खरिद बिक्री नै रोक्नुपरेको जनाइएको छ ।

गत साता देशकै १६औं ठूलो बैंक सिलिकन भ्याली तरलता अभावका कारण धराशायी भएपछि अमेरिकी बैंकिङ पद्धतिको समस्या सतहमा आएको थियो । त्यसको दुई दिनपछि नै न्युयोर्कको क्षेत्रीय बैंक- सिग्नेचर बैंक बन्द भएको थियो । दुवै घटनामा नियमनकर्ता निकायहरुले बचतकर्ताको रकमको सुरक्षा सुनिश्चित गरिने प्रतिबद्धता जनाएका छन् ।