देखियो आर्थिक मन्दीको संकेत, उपभोक्ताको क्रयशक्ति घट्दा मुख्य व्यापारिक केन्द्र सुनसान (भिडियो रिपोर्ट)

चैत्र २, २०७९ |भरत रावल
देखियो आर्थिक मन्दीको संकेत, उपभोक्ताको क्रयशक्ति घट्दा मुख्य व्यापारिक केन्द्र सुनसान (भिडियो रिपोर्ट)

काठमाडौं । पछिल्लो समय बजारमा चहलपहल घटेको छ । काठमाडौं उपत्यकाका व्यापारिक मल तथा सपिङ कम्प्लेक्स सुनसान देखिन थालेका छन् । कतिपय सटरमा ताला झुन्ड्याइएका छन् । सटर भाडामा जाने आशमा रहेका सञ्चालकहरु खाली भएका सटरमा रङरोगनको काम गरिरहेका छन् । महँगो भाडा तिर्नुपर्ने भएपछि व्यापार शून्यप्रायः रहेको व्यापारीको गनासो छ ।

सधैं व्यस्त रहने काठमाडौं उपत्यकाका अधिकांश व्यापारिक मल हिजोआज सुनसान छन् । व्यापार ५० प्रतिशतमा सीमित छ, बैंकको ब्याजदर बढेर दोब्बर भएको छ । मलको महँगो भाडा तिर्न नसकेपछि कतिपयले पसल नै खाली गरेका छन् । अहिले मलमा २० देखि ३० प्रतिशत सटरमा ताला झुन्ड्याइएको छ । बैंकको ब्याजदर वृद्धि र व्यापारमा कमी आउादा टिक्नै नसक्ने अवस्था आएको व्यापारीको गुनासो छ ।

नेपाल राष्ट्र बैंकले गरेको कडाइका कारण घरजग्गा व्यवसाय लगभग ठप्प छ । सरकारले पुँजीगत खर्च गर्न नसेपछि विकास निर्माणको कामले पनि गति लिन सकेको छैन । जसले अर्थतन्त्रको गति बिथोलिएको छ । यसको असर सानादेखि ठूला व्यवसायीलाई परेको छ ।

अर्थतन्त्र चलायमान नहुँदा र आम्दानी नबढ्दा उपभोक्ताको क्रय शक्ति घटेको छ । महँगोमा कर्जा लिएर ल्याएको सामान पनि गोदाममै थन्किएको छ । डलरको मूल्य बढेपछि आयातित वस्तुको मूल्यसमेत बढेको अर्थविद् चन्द्रमणि अधिकारीको भनाइ छ ।

उपभोक्ताको क्रय शक्तिमा गिरावट आएपछि चालु आर्थिक वर्षको सात महिनासम्म आयात २० प्रतिशतले घटेको छ । आयातित अर्थतन्त्र भएका कारण आयातको आँकडालाई समेत क्रय शक्तिका रुपमा लिने गरिन्छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।