पूर्वाधार नहुँदा धनकुटाको औद्योगिक ग्राममा खुलेनन् उद्योग (भिडियो रिपोर्ट)

चैत्र २, २०७९ |विनोद घिमिरे
पूर्वाधार नहुँदा धनकुटाको औद्योगिक ग्राममा खुलेनन् उद्योग (भिडियो रिपोर्ट)

धनकुटा । लघु, घरेलु र साना उद्योग एकत्रित गरी सञ्चालन गर्न धनकुटाको अमलेटारमा औद्योगिक ग्राम निर्माण गरिएको छ । ग्रामसम्म पुग्ने सडक र आवश्यक भवन पूर्वाधार तयार भएको वर्षौं भइसक्यो । तर, व्यवसायका लागि आवश्यक औद्योगिक सुविधा र वातावरण नहुँदा उद्योग स्थापना हुन सकेका छैनन् ।

धनकुटाको आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउन २०३९ सालमै ५९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यस यता पटकपटक गरी यो ठाउँमा सडक र भवन पूर्वाधार निर्माणका लागि २० करोडभन्दा बढी रुपैयाँ लगानी भइसकेको छ । ५२ मध्ये २७ वटा व्यापारिक भवन तीन वर्षअघि नै तयार भइसकेका छन् । बन्नु पर्ने २५ मध्ये केही भवन निर्माणाधीन छन्। तयार पारिएका भवनमा उद्योग सञ्चालन गर्दै जाने नीति हो । तर अहिलेसम्म उद्योग सञ्चालनमा आएका छैनन् ।

ग्राममा उद्योग सञ्चालनका लागि घरेलु कार्यालयले पटक-पटक मागेको प्रस्तावमा जम्मा २६ जना उद्यमीको निवेदन परेको छ । ग्राममा औद्योगिक उत्पादनका लागि पाँच जनाले सम्झौता गरेका छन् । तर उत्पादन थालेका छैनन् ।

ग्राममा उद्योग सञ्चालन गर्न चाहनेलाई घरेलु कार्याय मार्फत १० लाख रुपैयाँसम्मको प्रविधि सहयोग दिने नीति छ । तर पनि यो ठाउँमा आएर उद्यम गर्न व्यवसायीहरु तयार छैनन् । ग्राममा भवन पूर्वाधार बनेपनि कच्चा पदार्थ आयात, तयारी मालवस्तु निर्यात, लगानी, उत्पादन, रोजगारी, सम्भावित बजार व्यवस्थाजस्ता औद्योगिक सुविधा र वातावरण तयार नभएको गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । 


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।