महानगरभित्र सञ्चालित व्यवसाय प्रोत्साहनको नीति छ : उपमेयर डंगोल

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
महानगरभित्र सञ्चालित व्यवसाय प्रोत्साहनको नीति छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिएकी छन् ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको सातौं वार्षिक साधरणसभामा मंगलबार उनले महानगरको प्रोत्साहनका लागि व्यवसायीहरुले व्यवसाय व्यवस्थित बनाउनु जरुरी रहेको धारणा राखिन् । उनले महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रुपमा गरिरहेको भन्दै औपचारिक दायरामा आउन आग्रह पनि गरिन् ।

‘काठमाडौं महानगरपालिकाभित्र रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य छ । व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिक रुपमा व्यापार व्यवसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन । व्यवसायीहरुले महाननगर भित्र व्यवसाय गर्दा व्यवसाय दर्ता गर्नुभएको छैन भने औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने जनाइन् । उनले व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु रहेको उल्लेख गरिन् । दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा रहेको उनको स्विकारोक्ति थियो । डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजार बढी रहेको पाइएको पनि जानकारी दिइन् । व्यवसाय व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको उनको भनाइ छ ।

‘धेरैलाई लाग्नसक्छ व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्नसक्छ । करको दायरामा आउनु भनेको करको दायरा फराकिलो बनाउँदै जाँदा दर पनि घटाउँदै जानसक्छौं । त्यो राम्रो पक्ष छ,’ उपमेयर डंगोलले भनिन्, ‘व्यवसाय औपचारिक रुपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनु हो । दर्ता नभएका व्यवसायीहरुको माग सम्बोधन गर्न महानगर अन्योलमा पर्छ । व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुन्छ तर काम गरिरहेको पाँच हजार हुन्छन् । व्यवसाय व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा हाम्रा नीति तथा कार्यक्रम फेल हुनुको मुख्य कारण हो ।’

त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको भन्दै गुनासो गरे । राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सकारको अदूरदर्शी नीति भएको उनको दाबी छ । ग्रिल तथा स्टिल व्यवसायीहरु आफैंले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको उनको भनाइ छ ।

अध्यक्ष कटुवालले नेतृत्व तहमा रहेका उद्योगी व्यवसायीहरुले अनुशासन पालना गर्न आवश्यक रहेको जनाए । कार्यक्रममा उनले अनुशासन नै विकासको मूल जड भएको उल्लेख गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.