‘महँगो ब्याजले लगानी विस्तार त परको कुरा, उद्यम टिकाउनै चुनौती भयो’

माघ ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘महँगो ब्याजले लगानी विस्तार त परको कुरा, उद्यम टिकाउनै चुनौती भयो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई कर्जा पाउन कठिन भएको जनाएका छन् । साना उद्योगहरुको पहुँच विस्तारका लागि पनि सहज कर्जा उपलब्ध गराउन आवश्यक रहेको गोल्छाको भनाइ छ । ‘साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ । सहज बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौं,’ गोल्छाले भने ।

ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले सोमबार गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिदको नीतिगत व्यवस्थाको माग गरे ।

गत आवमा ३०९ ठूला उद्योग दर्ता भएकामा ६५ हजार ६९ एसएमई उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने अध्यक्ष गोल्छाको विश्वास छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको उनले दाबी गरे । बैंकहरुको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको उनको भनाइ छ । उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने जनाए । ‘गत आवमा ३०९ ठूला उद्योगहरु दर्ता भएकामा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएका छन्, यो संख्या अझै बढ्नसक्छ, यिनको उत्पादन क्षमता अझै बढ्नसक्छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको छ,’ उनले भने, ‘महँगो ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौती भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो । ’

राजस्व कम उठेकाले मुलुक अफ्ठ्यारो अवस्थामा छ : अर्थमन्त्री पौडेल

अध्यक्ष गोल्छाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे । करिब ५० प्रतिशत उद्योग दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग गोल्छाको आग्रह थियो । कतिपय उद्योग झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको उनले जनाए । अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको मागअनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमई उद्योगबाट ठूलो आर्थिक उन्नति गर्ने सम्भावना प्रशस्त रहेको दाबी गरे ।

‘मन्त्रीज्यूको यसअघिको बजेटमा पनि र मौद्रिक नीतिमा पनि यो विषय समेटिएको छ तर कार्यविधि अहिलेसम्म पनि आएको छैन । ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्नुपर्ने देखिएको छ । साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक छ । हामीले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न सकिरहेका छैनौं,’ उनले भने, ‘करिब ५० प्रतिशत उद्योग व्यवसाय दर्ता नभएका छन्, त्यसमा १७ लाखले रोजगारी पाएका छन्, यी उद्योगको वास्तविक पहिचान अब स्थापित गर्नुपर्छ । दर्ता हुँदा सरकार झमेलामा पर्ने डरले पनि धेरै उद्योगहरु दर्ता हुन चाहेका छैनन्, कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी सायद नेपालमा मात्रै होला ।’

अध्यक्ष गोल्छाले एसएमई क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनीतिक र नीतिगत प्रतिबद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको दाबी गरे ।

चन्द्र ढकालले भने- तरलताको समस्या समाधान हुँदै गएको छ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.