राजस्व कम उठेकाले मुलुक अफ्ठ्यारो अवस्थामा छ : अर्थमन्त्री पौडेल

माघ ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
राजस्व कम उठेकाले मुलुक अफ्ठ्यारो अवस्थामा छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व बुझाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले राजस्व कम उठेकाले मुलुक पनि आर्थिक रुपमा अफ्ठ्यारो अवस्थामा रहेको जनाए ।

उद्योग वाणिज्य महासंघले राजधानीमा सोमबार गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा उनले कर्मचारीहरुलाई राजस्व उठाउन आग्रहसमेत गरे । राजस्व उठाउने क्रममा कसैले असहयोग गरे आफूलाई जानकारी दिनसमेत अर्थमन्त्री पौडेलले कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम सुरु भइसकेको दाबी गरे । उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासो अब सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । कर्मचारीहरुले कर बुझाउन जाँदा दिएका झन्झटबारे मन्त्रालयलाई जानकारी गराउनसमेत निजी क्षेत्रसँग आग्रह गरे । राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्नु नहुने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थ मन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि निजी क्षेत्रलाई मन्त्री पौडेलको आग्रह छ ।

‘ब्याजदरको विषय मन्त्रालयबाट सम्बोधन भइसक्यो । ब्याजदर अझै कम गराउने विषयमा लागिरहेको छु,’ कार्यक्रममा अर्थमन्त्री पौडेलले भने । उनले स्टार्टअप कार्यविधि पनि चाँडै पास गर्ने घोषणासमेत गरे । पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेत देखिएको उनको भनाइ छ ।

उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने जानकारी दिए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे । राष्ट्र बैंक स्वायत्त कानुनका आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप नगर्ने जनाए । ‘पछिल्ला दिनहरुमा ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएका छन् । हामी यस बारेमा गहन छलफलमा छौँ । यो प्रक्रियाले अलिकति तीव्रता लियोस्, वाञ्छित सीमाभित्र कायम हुन सकोस् र मेरा प्रयासहरु त्यसमा केन्द्रित हुनेछन्,’ उनले भने ।

‘वित्तीय क्षेत्रमा पहुँचको कुरा गर्नुभएको छ, कस्तो कमी र कस्तो समाधान हो ? त्यस हिसाबमा पनि सुझाव दिनुहुनेछ । ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीति र महँगीलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो,’ उनले भने, ‘राष्ट्र बैंक आफैँ स्वायत्त कानुनका आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप गर्दैन ।’

‘प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन सकिँदैन ।’

अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने धारणा राखे । वर्तमान सरकार कुनै पनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको उनको भनाइ छ । सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने पनि पौडेलले जनाए । ‘आकारमा सानो तर योगदानमा ठूलो यो क्षेत्र लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्न सक्छौँ । यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्न सक्छौँ र सबैभन्दा सार्थक उपाय हामी खोज्न सक्छौँ । त्यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने, ‘यो सम्मेलन समस्याकेन्द्रित होस् । सरकार कुनै पनि क्षेत्रको नीति निर्माणका सन्दर्भमा कुनै पनि क्षेत्रका निर्णयका सन्दर्भमा सरकारले वा नीति निर्माताहरुले, निर्णयकर्ताहरुले निर्णय गर्ने र नीति अघि सार्ने र त्यो इम्पोज गर्न यो सोचबाट बाहिर आउन चाहन्छौँ ।’

उनले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरुको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गरे । प्रक्रियागत रुपमा देखिएका झन्झटहरुलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिन पनि निजी क्षेत्रसँग अर्थमन्त्री पौडेलको आग्रह छ । ‘हामी कुनै पनि नीतिगत निर्णयमा पुग्नुभन्दा अघि कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुअघि सम्बन्धित समुदायसँग बसेर छलफल गर्न, सुझाव सुन्न चाहन्छौँ, र त्यही सुझावको आधारमा सही निस्कर्षमा पुग्न, ती निर्णयको कार्यान्वयन होस् भन्ने चाहन्छौँ,’ उनले भने ।

चन्द्र ढकालले भने- तरलताको समस्या समाधान हुँदै गएको छ

अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याए पनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुखद् भएको गुनासो सुनाए । अब चाँडै स्टार्टअप कार्यविधिलाई अघि बढाउने उनको भनाइ छ । स्टार्टअपसम्बन्धी यो कार्यविधि चाँडै पारित हुने र कार्यान्वयनमा आउने उनको प्रतिबद्धता छ । परियोजना कर्जा पनि चाँडै नै अघि बढाउने मन्त्री पौडेलको भनाइ छ ।

‘म अर्थमन्त्री हुँदा स्टार्टअप कार्यविधि बजेटमा ल्याएको थिएँ । तर कार्यान्वयन गर्ने बेलामा म सरकारबाट बाहिरिएँ । अहिले १९/२० महिनापछि फर्किंदा पनि त्यो कार्यविधि बनेको रहेनछ । त्यो बेलामा निजी क्षेत्रले पनि अलि दबाब दिनुपर्ने थियो । स्टार्टअप कुनै हल्का ढंगले अगाडि बढाइएको विषय होइन, निजी क्षेत्रलाई ठिक ढंगले अघि बढाउन जुन प्रकारको कम्सेप्टमा स्टार्टअप सुरु गरिएको हो । त्यसलाई अघि बढाउन जरुरी छ,’ उनले भने, ‘स्टार्टअपसम्बन्धी यो कार्यविधि छिटै पारित हुनेछ, कार्यान्वयनमा आउनेछ । यसबाट भरपूर लाभान्वित हुनुहोस् भन्ने पनि आग्रह गर्दछु ।’

कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन नसकिने जनाए । ‘अर्को विषय पनि चर्चा भयो, परियोजना कर्जा । प्रोजेक्ट फाइनान्सिङको कुरा । त्यतिबेला हामीले चर्चा गरेका थियौँ । प्रोजेक्ट फाइनान्सिङ जोखिममा साझेदारी हुनुपर्छ । प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्र अघि बढाउन सकिँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई आधारसहित अघि बढाउने हो भने परियोजना कर्जाको प्रवन्ध गर्न आवश्यक छ । यसबारे कार्यविधि नबनेको सुनिरहेको छु । प्रोजेक्ट फाइनान्सिङ निजी क्षेत्रलाई जोखिममा साझेदारी गर्ने र आश्वस्त भएर लगानी गर्ने कुरालाई पनि कार्ययोजना बढाउने कुरामा शीघ्र अघि बढाइनेछ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.