
हुम्ला । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून जनशक्तिका बीच हुम्ला जिल्ला अस्पतालले पहिलो पटक सुरक्षित शल्यक्रिया गरेको छ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख एम.डी.जी.पी. डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको पूर्वनिर्धारित शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालकी सिनियर अनमी सरिता बोहोराका अनुसार तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी सुनारले यसपटक जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिनुभएको हो ।
अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कंचन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले शल्यक्रिया गरेको हो।
अस्पताल परिवारले उक्त टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै “यो सफलता हुम्लाको सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको प्रतिफल भएको बताएको छ ।