प्यूठानमा अरिंगालको आतंक, सयौँ मौरीका घार सखाप (भिडियो)

पुस २४, २०७९ |शमशेरविक्रम जीसी
प्यूठानमा अरिंगालको आतंक, सयौँ मौरीका घार सखाप (भिडियो)

प्यूठान । प्यूठानमा यो वर्षमात्रै मह उत्पादन तीन चौथाईले घटेको छ । मौरीपालक किसानलाई इन्तु न चिन्तु बनाउने र एउटै जिल्लामा एक करोडभन्दा बढीको नोक्सान पुर्‍याउने अरिंगाल हो । अरिंगालकै कारण मौरीका घारै रित्तिन थालेका छन् ।

प्यूठान नगरपालिका- ७ टिकुरीका मधुसुदन भण्डारीसँग पोहोर साल एक सय घार मौरी थिए । त्यसबाट उनले १० क्विन्टल मह उत्पादन गर्थे । तर यसपाली मह उत्पादन ७५ प्रतिशतले घट्यो । मह मात्रै घटेको हैन, एक सय घार मौरी घटेर १५ घारमा झरेको छ । अरिगांलले खाइदिने र आक्रमण गर्दा मौरीले घार नै छाडेर हिड्ने समस्याले उत्पादन घटेको हो ।

मौरीपालक किसान भण्डारीले दुखेसो पोखे, ‘अब यो मौरीबाट मह उत्पादन नभइसकेपछि, मौरी नै नभएपछि अहिले बैंकको ऋणको किस्ता कसरी तिर्ने भन्ने समस्यामा परेका छौँ ।’

प्यूठान नगरपालिका-४ टारीका रामचन्द्र सुबेदीको समस्या पनि यस्तै छ । प्रकोपकै रुपमा अरिगांलको आक्रमणले पाँच महिना अघिसम्म भएका करिव डेढ सय घार मौरी अहिले २० वटामा सीमित भएको सुबेदी बताउँछन् । अघिल्लो वर्ष यो सिजनमा १० क्विन्टल भन्दाबढी मह उत्पादन गरेका उनले अहिले एक किलो पनि काढेका छैनन् ।

उनले भने, ‘मौरीको घटेको संख्या र महको उत्पादन सबै गरेर १५ लाख मैले गरेको काममा मात्रै घाटा हुन गयो ।’

अरिंगालको प्रकोप र असोज तेस्रो साताको अविरल वर्षाका कारण यो वर्ष प्यूठानमा कम्तिमा ७० प्रतिशतले मह उत्पादन घटेको छ । वार्षिक ३० हजार किलो मह उत्पादन हुने प्यूठानमा यो वर्ष एक हजार किलो पनि उत्पादन भएको छैन । व्यवसायिक रुपमा मौरी पाल्दै आएका जिल्लाका किसानले एक करोड २० लाख रुपैयाँ भन्दाबढी घाटा बेहोर्नुपरेको छ ।

अरिंगालको आक्रमण बढेकै कारण बाहिरबाट चरनका लागि ल्याइएका मौरीका घार पनि घटेका छन् । अरिगांलको आक्रमण नियन्त्रण गर्ने उपाय र मौरीपालक किसानलाई राहतसहित प्राविधिक ज्ञान दिन स्थानीय सरकार पनि गम्भीर हुन आवश्यक छ ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।