रुपन्देहीसहित तराईका करिब ३ सय ३४ सडकको निर्माण अलपत्र

माघ ७, २०७८
रुपन्देहीसहित तराईका करिब ३ सय ३४ सडकको निर्माण अलपत्र

केही वर्षयता तराईका जिल्लामा तराई मधेस सडक र नाका सडक निर्माण सुरु भएका छन् । राजमार्ग र बजारबाट गाउँ जोड्न भन्दै सुरु भएका सडकमा यस वर्ष भने बजेट परेन । त्यही कारण रुपन्देहीसहित तराईका करिब ३ सय ३४ 'सडक निर्माण' बीचमै अलपत्र परेका छन् ।

बुटवल उपमहानगरपालिकाको नयाँगाउँ बेलभोरिया कृष्णगन्ज जोड्ने सडक गत वर्ष सुरु भयो । रकम नपाएको भन्दै नारायण सत्यवती जेभीले सडक निर्माणको काम बीचमै छाडेको छ । यसले आवागमनमा समस्या भएको छ भने सवारी दुर्घटना बढाएको छ । सैनामैनाको घमाहदेखि पर्सहवा गंगानगर सडक, तिलोत्तमा नगरपालिकास्थित नयाँमिल मणीग्राम रिङरोड सडक निर्माणधीन अवस्थामै अलपत्र छन् । 

तराई मधेश सडकअन्तर्गत रुपन्देहीमा २४ वटा सडक निर्माण सुरु भएका छन् । तर सडक विभागले रकम नछुट्याएपछि निर्माणाधीन सडक यस वर्ष अलपत्र परेका छन् । 

काम गरेको रकमसमेत नपाएपछि ठेकेदार कम्पनी अहिले डिभिजन सडक कार्यालयहरुमा धाइरहेका छन् । तर, सडक विभागबाट बजेट नआएको भन्दै कार्यालयहरुले रकम दिएका छैनन् ।

तराईका जिल्लामा तराई मधेश सडक र नाका सडकका नाममा बजारबाट मधेसका गाउँ जोड्ने सडक निर्माण सुरु भएका छन् । यस्ता सडक देशभर करिब ३ सय ३४ वटा छन् । २ करोड रुपैयाँसम्मका ती ठेक्का यस वर्ष अलपत्र छन् । बजेट विनियोजनका बेला हेक्का नभएको भन्दै विभागले ती सडकमा रकम पठाएको छैन । रकमान्तर गरेर रकम पठाउने बताएको सडक विभागले कहिले बजेट पठाउने हो र निर्माण सुरु हुने हो टुंगो छैन ।