प्रधानमन्त्री पुष्पकलम दाहाल गठबन्धन फेरि-फेरि आफ्नो तेस्रो कार्यकालमा डेढ वर्षदेखि सरकारको नेतृत्वमा हुनुहुन्छ । पछिल्लोपटक नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउँदै गर्दा उहाँको तर्क थियो, कांग्रेसले कामै गर्न दिएन । एमाले-रास्वपासहितको गठबन्धन सरकार बनेको एक सय दिन नाघिसकेको छ । तर, सरकारको गतिलो काम कुनै देखिएको छैन ।
आगामी वर्षको बजेट त आयो, तर, सत्तारुढ एमाले मात्र होइन आफ्नै पार्टीका नेताले समेत आलोचना गरिरहेका छन् । यता छोप्यो उता उदाङ्गो, उता छोप्यो यता उदाङ्गो भनेजस्तो अवस्थामा प्रधानमन्त्री दाहाललाई पाउन सकिन्छ । जति गरे पनि जस पाउन नसकेको र उल्टै आफू एक्लिँदै जानुपरेको आभास प्रधानमन्त्री दाहालमा देख्न सकिन्छ ।
असार ६ गते प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री दाहाल निराश देखिनुभएको थियो । संसद्मा उठेका कतिपय प्रश्नको जवाफसमेत दिने ध्येयले रोस्ट्रममा उभिँदा उहाँले देख्नुभयो- आफ्नै नेतृत्वको सरकारका धेरै मन्त्रीहरु गयल छन् । मन्त्रीहरु मात्र होइन, सत्ता सहयात्री दलका प्रमुख नेताहरु पनि संसद्मा छैनन् । कुर्सीहरु खाली-खाली छन् ।
प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदा सदनमा देखिएका प्रतिपक्षी दलका शीर्ष नेताहरु पनि त्यसपछि उहाँको प्रश्नोत्तर सुन्न खासै उत्सुक देखिएनन् । प्रतिपक्षीको मञ्च भनिने संसद्मा विपक्षी दलबाट पनि फाट्टफुट्ट मात्र सांसदहरु देखेपछि प्रधानमन्त्रीलाई संसद्को अभ्यास र गरिमामै प्रश्न उठेको मात्र लागेन, प्रधानमन्त्रीका रुपमा आफ्नै मानमर्दन भएको महसुस भयो । सिंगो सरकार र गठबन्धन दलहरुकै प्रतिनिधिका रुपमा संसदमा उभिइरहँदा उहाँले आफूलाई एक्लै पाउनुभयो ।
अरु त अरु, आफ्ना मन्त्रीले आफ्नै निर्देशनसमेत पालना नगरेको उहाँको अभिव्यक्तिबाट स्पष्ट हुन्थ्यो । संसद्मा यति धेरै बजेटमाथि आलोचना भइरहँदा आफ्नै मन्त्रीले समेत साथ नदिएको पाउँदा प्रधानमन्त्रीलाई दुःख त लाग्ने नै भयो ।
असार ७ गतेको अर्को एक कार्यक्रममा प्रधानमन्त्री दाहाल अलि भावुक रुपमा प्रस्तुत हुनुभयो । सशस्त्र युद्धकालमा भन्दा अहिले आफूले बढ्ता काम र मिहिनेत गर्नुपरेको पार्टीनिकट बुद्धिजीवी संगठनको कार्यक्रममा दाबी पेस गर्नुभयो । उहाँले नयाँ दलले पुराना दल र नेतालाई अपमान गरेको भन्दै चित्त दुखाउनुभयो । त्यति मात्र होइन, संसद्मा रहेका र संसद्बाहिर रहेका दललाई पनि संयोजन गरिरहेको र कतिपय अवस्थामा अन्य दलभित्रका समस्या समाधानमा समेत आफू लाग्नुपरेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले सबैतिर मिलाइरहेको छु, खटिरहेको छु भनेर दाबी पेस गरिरहँदा त्यसभित्र एउटा चिढचिढाहट स्पष्ट देखिन्थ्यो कि, यत्रो गर्दा पनि जस भने पाइरहेको छैन । नतिजा भने आइरहेको छैन । अरु त अरु, आफ्नै पार्टीका नेता-कार्यकर्ताले समेत सरकारको काम र पार्टी नेतृत्वप्रति विश्वास नगरिरहेको उहाँको आशय थियो । कुनै बेला पार्टीकै नेता आहुतिको सन्दर्भमा ‘धेरै विद्वान् भएपछि बिग्रिन्छ’ भन्नेसम्मको अभिव्यक्ति दिनुभएका दाहाल अहिले पार्टीनिकट बुद्धिजीवीहरुसँगै हारगुहार गरिरहनुभएको थियो कि, तपाईंहरु पनि खटिदिनोस्, सहयोग गर्नोस् । सरकार र पार्टीको नेतृत्वलाई आफ्नै कार्यकर्ताले साथ नदिएको बताउँदै गर्दा माओवादी अध्यक्ष दाहाल चिन्ताग्रस्त रहेको स्पष्ट देखिन्थ्यो ।
तेस्रो कार्यकालको अहिलेसम्मको अवधिमा प्रधानमन्त्री दाहालको ऊर्जा सत्तारुढ दलहरु मिलाउँदै, भत्काउँदै र नेताहरु फकाउँदैमा खर्च भइरहेको छ । कहिले एमाले अध्यक्ष केपी ओलीका माग सम्बोधन गर्दै, कहिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउँदै त कहिले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई जोगाउँदैमा प्रधानमन्त्री दाहाललाई भ्याइनभ्याई छ ।
बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र उपेन्द्र यादवको जनता समाजवादी पार्टी फुटाउन मिहिनेत पनि उहाँले नै गर्नुपरेको छ । यी सबै राजनीतिक गतिविधिसँगै उहाँले सरकार पनि चलाउनुपरेको छ । त्यसैले उहाँलाई युद्धकालमा भन्दा बढ्ता खटिरहेको छु भन्ने लाग्नु स्वभाविक छ । तर, त्यो खटाइको नतिजा के भइरहेको छ त ? सरकारको कामले प्रशंसाभन्दा बढी आलोचना पाएका छन् ।
बुट मोडलमा काम गर्ने घोषणा गर्नुभएका दाहालले अहिले कुन मोडलमा काम गर्दै हुनुहुन्छ, उहाँलाई नै थाहा छैन । हरेक दिन १० बजे प्रधानमन्त्री कार्यालयमै गएर काम गर्ने उहाँको घोषणा अलपत्र परेको धेरै भइसक्यो । गठबन्धन टिकाउन दल र नेताहरु मिलाउँदैमा घर्किएको समय बचाएर ‘म त देशको प्रधानमन्त्री हुँ’ भन्ने आभास भएका बेला, जनताका पक्षमा दिएका निर्देशनहरु पनि कार्यान्वयन नै हुँदैनन् ।
भुक्तानी नपाएका दुग्ध किसानलाई तत्काल पैसा दिनू भनेर गत फागुनमै प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो । पीडित किसानका लागि त्यो ‘तत्काल’ अहिलेसम्म आएकै छैन । आफ्ना बारम्बारका निर्देशनलेसमेत काम नभएपछि प्रधानमन्त्रीले उच्च पदस्थ कर्मचारीहरुलाई भेला गरेर भन्नुपरेको छ- ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ । तर प्रधानमन्त्रीले चाहेजस्तो रुपान्तरण पनि कर्मचारी प्रशासनमा देखिँदैन ।
न आफूले दिएका निर्देशन पालना हुन्छन्, न सरकारको कामले गति लिन्छ, न सत्तारुढ दलहरुको चित्त बुझ्छ, न आफ्नै पार्टीका नेता-कार्यकर्ता खुसी हुन्छन् । प्रतिपक्षीले घेर्नु त ठीकै हो, आफ्नै क्याबिनेटका मन्त्री राजीनामा गोजीमा छ भन्दै घुर्क्याउँछन् । यसरी जति गरे पनि नहुने भएपछि प्रधानमन्त्री दाहालले आफूलाई एक्लो महसुस गर्नु स्वभाविक नै हो । तर, यति हुँदा पनि, यस्तै-उस्तै गरी गठबन्धन टिकाएर प्रधानमन्त्री भइरहेरदेशको कायापलट मैले नै गर्ने हो भन्ने प्रधानमन्त्रीको आत्मविश्वासचाहिँ गजबकै छैन त ?