मधेशका कैयौं विद्यार्थीले भोगिरहेछन् जातीय विभेद, यो अपराधलाई रोकौं

फाल्गुन २५, २०८० |विनय कुमार
मधेशका कैयौं विद्यार्थीले भोगिरहेछन् जातीय विभेद, यो अपराधलाई रोकौं

तपाईंले कहीँ कतै जातीय विभेद भोग्नु भएको छ? यदि तपाईं कथित उपल्लो जातिको हुनुहुन्छ भने भोग्नु भएको छैन होला तर तपाईं दलित समुदायको हुनुहुन्छ भने पक्कै पनि कुनै न कुनै रुपमा जातीय विभेद भोग्नु भएको छ । 

मैले अहिलेसम्म जातीय विभेद भोगेको छैन । किनकि, म यो समाजको कथित उपल्लो जाति मध्येकै पर्छु । हुन त मैले कसैलाई जातिकै आधारमा विभेद गरेको छैन, र गर्ने पनि छैन । तर, हामीले यति भनिदिएर समाजमा रहेको जातीय विभेद र छुवाछूतको अन्त्य हुन्छ होला त? भइरहेको छ होला त? छैन, विलकुल छैन । मेरो पेशा पत्रकारिता, म कान्तिपुर टेलिभिनजमा समाचार भन्छु । समाचार भन्ने क्रममा एउटा समाचारले मेरो मन नराम्रोसँग हल्लायो ।

कुरा हो जनकपुर उपमहानगरपालिका वडा नम्बर ७, मुसहर टोलको । त्यहाँको एउटा दलित डोम परिवारका अंगद र करिना अनि उनीहरुकी आमा शोभा मल्लिकको अनुभव सुन्नु भयो भने तपाईंलाई पनि लाग्नेछ हामी कस्तो समाजमा बाँचिरहेका छौं । अंगदलाई विद्यालयमा तँ कुन जातको भनेर सोधिन्छ, उनी खत्वे मण्डल भन्ने गर्छन्, डोम भनेर खुलाउँदैनन् । अझ करिनालाई त जातको आधारमा हेला-होचो गरेपछि विद्यालय नै जान मन लाग्दैन । जातीय भेदभावको जरोकिलो कसरी अहिलेको पुस्तासम्म सर्दैसर्दै गाडिएर आएको छ भन्ने अंगद र करिनाले विद्यालयमा साथीसंगीबाटै भोग्नु परेको जातीय भेदभावले छर्लङ्ग पार्छ ।

अंगद र करिना मल्लिक स्कुल पढ्न चाहन्छन् । तर, करिनालाई साथीहरुले जातकै आधारमा गर्ने विभेद, खिसिट्युरी र हेलाले विद्यालय नै जान मन पर्दैन । सम्झिनोस् त, पढ्ने रहर हुँदाहुँदै जातीय विभेदको अपमान सहेर विद्यालय जानुभन्दा नजानु नै जाति भन्ने अवस्थामा पुगिन् भने करिनाको भविष्य कहाँ गएर टुंगिन्छ होला ?

आफूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउने रहर पालेकी अंगद र करिनाकी आमा शोभा मल्लिक पनि यो विभेदले हैरान छिन् । विद्यालयमा विद्यार्थीको जात सोधिन्छ, तिमी तल्लो जातिको, म माथिल्लो जातिको भनेर मुखमै भनिन्छ । उनलाई म ठूलो जातको तिमीहरु सानु जातको भनेर अपमान गरेको पटक्कै मन पर्दैन । तर, समाजले यो कुरा कहिल्यै नबुझेको उनको गुनासो छ ।

देशैभरि जातीय विभेदको दलदल छ, अझ मधेशमा झनै डरलाग्दो छ । त्यही भासमा भासिएर कति बच्चाहरुले पढ्न छोडिरहेका होलान् । हामी २१औं सताब्दीका ठूला-ठूला प्रविधि, प्रगति र विकासका सिलसिला गनिरहेका छौं तर मधेशमा दलित समुदायका हजारौं हजार त्यस्ता विद्यार्थी छन् जो पहिलो पुस्ता विद्यालय गइरहेका छन् । 

उनीहरुलाई हामी हौसला दिइरहेका छौं कि, निरुत्साहित गरिरहेका छौं त ? विद्यालय होस्, वा सहर-गाउँ-समाज सोच्नुपर्ने कथित उपल्लो जातिका मानिसहरुले हो । बच्चाहरुले सिक्ने अभिभावकहरुबाटै हो, त्यसैले जातीय विभेद नगर्न र जातका आधारमा कोही ठूलो सानो हुँदैन भन्ने कुरा आफूले पनि आत्मसात् गर्नोस् र आफ्ना बच्चाहरुलाई पनि सिकाउनोस् । यो अपराधको भागिदार आफू पनि नबन्नोस् र आफ्ना बच्चाहरुलाई नबनाउनोस् ।


Image

विनय कुमार

कुमार कान्तिपुर टीभीमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement