सामाजिक सन्जालमा मनपर्दी ‘च्याट’

फाल्गुन २६, २०७९ |किरण अधिकारी
सामाजिक सन्जालमा मनपर्दी ‘च्याट’

विश्व समुदाय अहिले प्रविधि प्रयोगमा अघि बढिरहेको अवस्था छ । विभिन्न प्राविधिक खोजबाट प्राप्त अवसरलाई मानिसले उपभोग गरिरहेको छ । ती प्रविधिलाई आफूअनुकूल प्रयोग गरिरहँदा सकारात्मकसँगै नकारात्मक असरहरू परिरहेको पाउन सकिन्छ । पछिल्लो समय सामाजिक सन्जालको बढ्दो प्रयोगसँगै आपसमा सहज संवादका लागि च्याटको प्रयोग बढ्दो छ ।

सपना (नाम परिवर्तन) लाई केही समयअघि चिनिराखेको । कहिलेकाहीँ कुरा पनि हुने । एक पुरुष, जसलाई अधिकांशले चिन्ने । एकदिन फेसबुकको स्टोरी फोटोमा क्लिक गर्दै, धेरै राम्री आई लभ यू, ‘उम्ममा’को संकेत दियो । सपनाले ती पुरुषलाई फेसबुकमा ब्लक गरिन् । जिस्काउनेलाई दोस्रो संकेत हुँनै नदिन बाटो बन्द गरिन् ।

सरकारी इन्जिनियर किशोर (नाम परिवर्तन) लाई भारतकी एक युवतीलले ट्विटरमा फलो गरिन् । उनले फलो ब्याक गरे । साथी बने, परिचय साटासाट भयो । सम्पर्क नम्बर पनि साटासाट भएपछि ह्वाट्सएपमा च्याट हुन थाल्यो । एक रात ती युवतीले सर्वनग्नको प्रस्ताव गरिन् । च्याटअनुसार सहमत भए । आमा आउनुभयो बाई भन्दै युवती अलप भइन् ।

अर्को दिन बिहान भारतीय युवतीको फोन आयो । किशोरले खुसी हुँदै हेलो भनेको त उताबाट केटाको आवाज सुनियो । तिमीले हिजो मेरी ‘केटी साथी’लाई नग्न पारेको र आफू नग्न भएको रेकर्ड मसँग छ । अब प्रहरीलाई उजुरी दिन्छु । नभए मलाई ५० हजार रुपैयाँ देऊ । यस्तो सुनेपछि किशोरले पनि सबैबाट ब्लक गरे ।

सपना र किशोरजस्तै अधिकांश नारी एवं पुरुषले सोची-सम्झीविनै च्याट गर्दा पछि आफैंले समस्या झेल्नुपर्छ भन्नेमा हेक्का राखेको देखिँदैन । तत्काल समस्या समाधानका लागि सामाजिक सन्जाल तथा नम्बरमा उक्त व्यक्तिलाई ब्लक गरिन्छ । ब्लकले राम्रो भन्छ भने यसविरुद्ध आवाज नउठाउनु आफू डराउनुसमेत रहेको डब्ल्यूएचओको अध्ययनले पनि जनाएको छ ।

विश्वभरमै आफूलाई मन लागेको कुरा (च्याट) म्यासेज फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत विभिन्न सामाजिक सन्जालबाट गर्ने चलन छ । यस्तै च्याटमा सावधानी नअपनाउँदा यौन शोषण, बलात्कृत तथा अपराधका घटनाहरू पनि भएको पाउन सकिन्छ ।

सामाजिक सन्जालको गलत प्रयोग र त्यसको प्रभावकारिताबारे सबै साक्षर हुनु जरुरी छ । नत्र यसबाट फस्नसक्ने जोखिम बढेको देखिन्छ । यसका लागि सबैभन्दा पहिलो कुरो भनेको सतर्कता हुनु हो ।

वास्तविक व्यक्तिले अस्पष्ट कुरा गर्दा समस्या बढ्दै गएको हो । उदाहरणका रूपमा सपना र किशोरले ब्लक गर्नु समाधान होइन । यो आफूसँग भएको डर र गलतलाई अरूले थाहा नपाउन् भनेर भागेको संकेत मनोचिकित्सकको छ ।

‘सपना र किशोर दुवै सुरुमा च्याटमा रमाए, च्याट साथीले आफूलाई हुने नराम्रो कुरा गर्दा ब्लक गर्नु नै कमजोरी हो । समाधानका लागि प्रोटेस्ट गर्न सक्नुपर्छ । त्यही प्रमाणलाई सुरुमा आफूलाई नराम्रो लागेको सुनाउनुपर्छ,’ वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीले, ‘आफ्नो प्रस्तावलाई बेवास्ता गर्यो भने, प्रमाण लगेर प्रहरीकहाँ जान सकिन्छ । कानुन नै सबैभन्दा ठूलो हो । ऐन-नियम यत्तिकै बनेका छैनन् ।’

डा. कार्कीले मानिस बेरोजगारी वा फुर्सदिलो हुनु पनि च्याटबाट समस्या निम्तिने उल्लेख गरे । उनले थपे, ‘कसैलाई वाक्क लाग्यो भने, रमाउनका लागि गीत सुन्ने, नाच्ने, किताब पढ्ने, चित्र कोर्ने, घरका परिवार, बच्चासँग खेल्ने, कुरा गर्ने गर्नुपर्छ । साथीको ग्रुपमा खाजा खान गयो, कोही साथी साथी गफ गर्दैनन्, मोबाइलमा व्यस्त, कि त च्याटमा ।’

च्याटबाट समस्या बढ्दै जाँदा समाधानको बाटो पनि खुम्चिँदै जान्छ । विशेषगरी कोरोनाकालमा मानिसहरू घरभित्रै थुनिँदाका अवस्थामा सामाजिक सन्जालमा च्याटबाटै कुराकानी गर्ने क्रम बढेको पाउन सकिन्छ । घरभित्र लामो समय बस्दा च्याट नै साथी बनेको अवस्थामा अश्लीलता पनि बढेको पाउन सकिन्छ ।

सेक्सी शब्द नबुझ्नु, आई लभ यू नबुझ्नु चेतनाको कमजोरी रहेको पूर्वबैंकर्स रविना देशराज श्रेष्ठको बुझाइ छ । शैक्षिक पाठ्यक्रम, मिडियाको सन्देश बलियो नहुनु पनि च्याटप्रति नकारात्मक बुझाइ रहेको उनको भनाइ छ ।

विदेशमा हुँदा टू पिस ड्रेस लगाएर समुद्रमा रमाउँदा नकारात्मक सन्देशको संकेत आफूलाई पठाओस् त कसैले ? तह लगाउन सक्छु, आफूजस्तै सबै महिला-पुरुष निर्धक हुन सक्यो भने समस्या नै नदेखिने श्रेष्ठको बुझाइ छ । समय परिवर्तनसँगै हुने विकासले ल्याउने समस्यामा रेडिमेड समाधान नहुन सक्छ ।

तथ्यांकले च्याटमार्फत यौनहिंसाको जोखिममा अनेक पुरुष-महिला रहेको देखाए पनि यसलाई कम गर्न पर्याप्त पहल भएको पाइँदैन । अल्पसंख्यक विरोधमा आए भने राजनीतिक र सामाजिक रूपमा शक्तिशाली वर्गले जाहेरी दर्तामै बाधा सिर्जना गर्ने, सकेसम्म मिलापत्र गराउन खोज्ने प्रवृत्ति छ । राज्य, समाज तथा सञ्चारमाध्यमले खेल्ने भूमिकाका आधारमा पनि ‘च्याट’ साइबर सेक्युरिटी मातहत छ ।


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।