राज्यसँग गुनासाे गर्दैन भाेजपुरको चाक्सिला

पुस ९, २०७९ |अवतार राई
राज्यसँग गुनासाे गर्दैन भाेजपुरको चाक्सिला

भनिन्छ, एउटा मीठो यात्रा सयौ‌ं पुस्तक अध्ययन भन्दा निकै वजनदार हुन्छ ।

यात्रामा भेटिन्छन् कैयन् बिम्वहरु जसले जीवनका अनेकन पाटाहरुलाई थप बुझ्न, रसिलो बनाउन उर्जा दिन्छ । त्यहाँ एउटा भुगोलको सामीप्यले मात्र भर गर्दैन, भुगोलसँग युगौंदेखि प्रीति गाँसेर बसेका समुदायका बृहंगम् भावना र दिनचर्या जो कोहीका लागि लोभलाग्दो हुने गर्छ । 

फरक भुगोल, समुदाय र त्यहाँका मानिसहरुको जीवनलाई अक्षरमा भन्दा अनुभूतिमा बुझ्न एउटा यात्रा कैयौं पुस्तक भन्दा वजनदार हुँदाेरहेछ भन्ने तथ्य भोजपुरको एउटा यात्रामा जीवन्त अनुभव गर्न पाइयाे ।

गृहजिल्ला भएर पनि भोजपुरको माथिल्लो बस्ती च्याक्सिला मेरा लागि नपुगेको तर पुग्न चाहेको भुगोल थियो । त्यहाँको समुदाय र उनीहरुका चालचलनसँग नजिकबाट त्यहीँ पुगेर भलाकुसारी गर्ने संवाद गर्ने मन अलि अघिदेखि नभएको हैन । तर तारतम्य, समय र मेसो भने अमिल्दो भइरहेको थियो ।

०००

अघिल्लो वर्ष हेमन्त ऋतुले महिनाहरु छुँदै गर्दा गृहजिल्लामा एउटा समुहले त्यतैतिर घुमघामको मेसो मिलाएका बेला अनपेक्षित रुपमा मसमेत जोडिन पुगें । सांसद सुदन किरातीसहितको समुहमा जोडिन पाउँदा त्यो यात्रा अझ पृथक र फलदायी होला भन्ने अपेक्षा थियो । समुहको मुख्य उद्देश्य त्यही सेरोफेरोका जनतासँगको संवाद र छलफल नै रहेछ । भोजपुर सदरमुकामबाट शुरु भएको यात्रा दोभानेको च्याक्सिला अन्तिम विन्दु थियो ।

यात्राका लागि ६ मोटरसाइकलमा तैनाथ समुहमध्ये मसँगै जोडिए रसिला मानिस जीवन किराती । हसिला मानिससँग यात्राका सहयात्री हुनु मेरा लागि रोमाञ्चक बन्ने नै भयो । गजक्क भएर जीवनजीका पछाडि गुटमुटिएर यात्रा प्रारम्भ गरियो ।

भोजपुरको पर्याटकीय क्षेत्र सदरमुकामबाट केही समयको उकालोपछि भेटिने मनोरम सुन्तले बाघखोरमा गएर चिया र आलुसँगै यात्राको प्रारम्भिक मेसो निकालियो । जिल्लाको उत्तरी केन्द्र मात्र हैन धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दिंलामा पुग्नु र त्यहाँका मानिसहरुसँग संवाद गर्नु मेरा लागि निकै अघिदेखिका रमाइला अनुभुति हुन्थे । जिल्लामा आधा दशक पत्रकारिताका दौरानमा कयौपटक यसै क्षेत्रमा पुगेर यहाँका विषयमा रोचक पहेलीहरु केलाउँदै रिपोर्टिङ गरेको थिएँ ।

खाना खाने र स्थानीयसँग संवाद गर्ने सांसद किरातीको योजना हालको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा रहेको जानकारीले म आफैं पनि पुराना चिनजानका मानिसहरुसँग कुराकानी हुने लोभले पुलकित भएँ ।

जिल्लाको एउटा व्यापारिक केन्द्र पनि हो दिङला । आवाल ब्रह्मचारी षडानन्दका अनेकन मिथक छन् । उनीसँग धार्मिक सांस्कृतिक पक्षहरु जोडिएका छन् । उनले वि.सं. १९३२ सालमा नै सो क्षेत्रमा विद्यालय स्थापना गरी शिक्षाको ज्योति फैलाउने काम गरेका थिए । उसले स्थापना गरेको विद्यालय हालसम्म सञ्चालनमा छ । यसैले पनि यो क्षेत्र जो कोहीका लागि पुग्नै पर्ने स्थान हो । दिङलासँगका पुराना चिनजानीहरुसँगको संवाद र छलफलसँगै त्यहाँ रहेका पुरातात्विक महत्वका सम्पदाहरुसँग साक्षात्कार गर्दै खानापछिका केही घण्टा गुजारियो । सांसद किराती भेटघाटमा व्यस्त थिए ।

यात्राका मित्रहरु जीवन, राजनसँग खुसुक्क मेसो मिलाएर वरिपरि टहलिन थालियो । त्यो दिनको साझ बसाइ नेपालेडाँडा तय थियो । साझको ५ दिङलाले नै बजाइसकेको हुनाले त्यहाँबाट बाटो लाग्नुपर्ने समय भइसकेको थियो । च्याक्सिलासम्म जान त्यहाँका केही युवा नेताहरु समेत समुहमा जोडिने भए । नेपालेडाँडा पुग्दा अवेर भइसकेको थियो । बाटो केही अप्ठ्यारो भएकाले पुग्न समय लाग्यो । जिल्लाको सांसद आउने खवर पाएपछि त्यहाँका मानिसहरु बाक्लो गरी भेला भई फूलमाला लिएर बसिरहेका रहेछन् ।

गहिरो आत्मीयताले खुसी साथ पाएको सम्मान सहितको फूलमाला अविरले समुहका सवैजना रगिंयौँ । आहा ! हामी पुग्दा उहाँहरुले व्यक्त गर्नुभएको सम्मानले पुलकित भइयो । खानाको बन्दोबस्त स्थानीयले गर्नुभएको रहेछ । खाना खाएर छलफलका लागि हलमा भेला हुँदा झण्डै ९ बजिसकेको थियो । झण्डै ५० देखि ६० मानिस अट्ने त्यो हल भरिभराउ थियो । त्यो सेसन १२ बजेसम्म चल्यो । कुराकानी उही त्यहाँका समस्या र समाधानका विषयहरु थिए ।

भोलिपल्ट समेत औपचारिक कार्यक्रमको आयोजना गरिएको रहेछ । भाषणभुषण नाचगानसहितको कार्यक्रम दिनभर जस्तै चल्यो त्यो दिन अलि तल गएर स्थानीय नेताको निवासमा बसाइ भयो । सवैरै बिहान उठेर नेपालेडाँडालाई अलि नियाल्नुथियो । नेपालेडाँडा सामाजिक सुधार आन्दोलनका नेतृत्वकर्ता, एक विद्रोही महिला योगमायाले जागरणको विगुल फुकेको गाउँ हो । त्यहाँ विहानको उज्यालो पोखिँदै गर्दा हामी यताउता गर्दै थियौं । स्थानीयले अहिले त्यहाँ एउटा धार्मिक तथा सांस्कृतिक केन्द्रको निर्माण गर्ने अभियान थालेका रहेछन् । स्थानीयहरुसँग मिठो संवाद गरियो । उनीहरुले थालेको अभियान र त्यहाँ हुने सम्भावनाहरुको बारेमा केहीबेर छलफलपछि पुग्नु थियो दोभानेको सालेवा ।

सालेवामा खानासँगै स्थानीयहरुले आयोजना गरेको छलफलमा सरिक हुँदै सोहि साँझ दोभाने फेदीको बसाइ तय भएको थियो । साँझ अवेर पुगियो त्यहाँ । जहाँ सम्मानमा मानिसहरु उसरी नै हेमन्त ऋितुको जाडो सहेर वरिपरिका जम्मा भइसकेका रहेछन् । उनीहरुसँग न्यानो आतिथ्य आदानप्रदान गर्दा झण्डै १२ बजिसकेको थियो । सिलिचुङको फेद कठ्याङ्ग्रिँदो रातको जाडो त उखुम नै भएको हो । तर त्यहाँका मानिसहरुसँग उत्साही भेटघाट छलफलले गमक्क थियौं हामी ।

भोलिपल्ट सोही स्थानमा गरिएको एक औपचारिक कार्यक्रममा दिनभर व्यस्त भइयो । अर्काेदिन पुग्नु थियो च्याक्सिला । च्याक्सिला उक्लने अघिल्लो साँझको एक सेसनमा यात्राका साथी बेनुप खत्रीको प्रस्ताव च्याक्सिलासँगै साल्पापोखरी हुँदै सिलिचुङ उक्लौं भन्ने आएछ । सांसद किरातीले ठाउँको ठाउँ प्रस्ताव स्वीकार गरेसँगै सो समुह सिलिचुङको उचाइ पुग्ने निष्कर्षमा पुग्यो ।

एकाबिहानै च्याक्सिलाका केही मानिसहरु आइसकेका रहेछन् । हाम्रो समुहलाई डोर्याउनका लागि । किनकि फेदीसम्म मात्र हो सडकको बाटो । त्यहाँबाट पैदल उक्लनु थियो । मोटरसाइकलका सहयात्री जीवन किरातीले पैदल उक्लनलाई जोस चलाएनन् । पछि मेसो बुझियो उनको अन्तिम यात्रा चाहिँ दोभाने फेदी विङमासम्म मात्र रहेछ । उनले दिनभर त्यहाँ इन्सुरेन्सको काम गर्नुपर्ने रहेछ । घुमाउरो पाराले झण्डै जीवनजीले मलाई समेत साथी राखे । मलाई त उक्लनु थियो च्याक्सिला ।

इर्खुवा खोलाको मुहान पछ्याउँदै च्याक्सिला पुग्नुपर्ने रहेछ । बाटाहरुमा भेटिने गोठहरु नियाल्दै उक्लियौं । बाटामा भेटिए थुप्रै गधाहरु जो च्याक्सिलाका दैनिक आवश्यक पर्ने सरसामान ओहोरदोहोर गराउँदा रहेछन् । जिल्लाको सवै क्षेत्रमा हिउँद याममा सडक सञ्जाल जोडिए पनि च्याक्सिलाको भर सो समयसम्म गधालाई भारी बोकाएर आफ्नो आवश्यकता परिपूर्ति गरिरहेका रहेछन् । इर्खुवालाई वारिपारि गर्न बाटामा बनेका थुप्रै झोलुंगे पुल स्थानीय बाँसको प्रयोग गरेर बनाइएको रहेछ । जो निकै जोखिमपूर्ण थियो ।

छोटो दुरी भए पनि च्याक्सिलालाई छुन भने निकै सकस परिरहेको थियो । बाटामा भेटिनेहरुसँग पुग्न सकिने समयबारे पटकपटक सोधिखोजी गर्नेमा अगुवाइ मैले नै गरे‌ । उकालीको एक बसाइमा सांसद किरातीले भनिहाले, “ साथीहरुको खुट्टी देखेर थाहा पाइयो । सिलिचुङ त बोकेर पुर्‍याउनुपर्ने होला । सकिन्छ त करण जी ? ”

युवा नेता करण मुक्मिङको फिस्स हाँसो मात्र थियो । सिलिचुङ नै उक्लन नसकिने सम्भावना देखेर नै बेनुपले अर्को पटक चढ्ने प्रस्ताव गरिसकेका थिए । शारीरिक रुपमा अलि अस्वस्थ लागेका राजन समीप पो च्याक्सिलाको उकालोमा दौडिँदै फोटो भिडियो बनाउन मस्त देखिन्थे ।

बढो सकसका साथ जव च्याक्सिला पुगियो, त्यहाँको आतिथ्यले थकित शरीरमा एकैपटक उर्जा आयो ।

०००

शेर्पा समुदायको सघन बसोबास रहेको च्याक्सिला भोजपुर जिल्लाको उपल्लो बस्ती हो । त्यहाँ सडक, बिजुली लगायत आवश्यक पूर्वाधारको अभाव छ । निर्वाचनका बेला समेत उम्मेदवारहरु पुग्न अल्छी गर्ने ठाउँ हो च्याक्सिला । किनकि त्यहाँ पुग्ने उर्जाले जिल्लाको अन्य थुप्रै स्थानहरुमा पुगेर भोट अपिल गर्न सकिन्छ । स्थानीयहरुले पहिलोपटक सांसद सहित हाम्रो समुह त्यहाँ पुगेको अवसरमा सांस्कृतिक कार्यक्रम नै आयोजना गरेका रहेछन् । शेर्पा समुदायको सांस्कृतिक पहिरनमा उपस्थित समुहको आतिथ्य र उनीहरुको सांस्कृतिक प्रदर्शनले मनै लोभ्यायो ।

साल्पा पोखरी नजिकको बस्ती पनि हो च्याक्सिला । जुन सोलुखुम्बु, खोटाङको समेत सीमानाले छुन्छ । झण्डै तीनहजार मिटरको उचाइमा यो बस्ती पर्छ । साल्पा पुग्नेहरु नजिकको बस्ती भेट्न च्याक्सिला झर्नुपर्ने हुन्छ । राज्यसँग उनीहरुको न अपेक्षा छ, न आशा छ न गुनासो छ । एउटा आफ्नै जीवन बाँचिरहेका उनीहरु आफ्नै सामर्थ्यमा दिनचर्या गुजारिरहेका छन् ।

च्याक्सिला पुग्नुअघिका धेरै औपचारिक अनौपचारिक भेटहरुमा त्यहाँका मानिसहरुले आफ्ना आवश्यकताहरु बारे सांसदसँग कुरा राख्थे । हुनुपर्ने जति विकास नभएको भन्दै कतिपयले गुनासो गर्थे, आक्रोश पोख्थे । तर च्याक्सिलासँग त्यो केही पनि थिएन । बरु हामी पुगेकैमा खुसी थिए उनीहरु। निकै भावनात्मक सम्मान थियो ।

त्यहाँ सडक, बिजुली लगायतका पूर्वाधार निर्माणको आवश्यक सम्भावना र परामर्श साँझको बसाइमा गरियो । अवेरसम्म त्यहाँका मानिसहरुको सुखदुख सुन्ने काम भयो । उसिनेको आलुसँग डल्ले खोर्सानीको अचार खुवै खाइयो । साथै स्थानीय छ्याङ चिसो छेल्ने अचुक अस्त्र यति थिए । अवेरसम्म गफगाफ चलिरह्यो ।

साल्पा पोखरी हुँदै सिलिचुङ चढ्ने योजना भंग भइसकेको थियो । समयको चापले जिल्ला फर्किनुपर्ने सवैको बाध्यता थियो । एक दिनको बसाइ पश्चात हामी फर्कियौं । फर्किने बेला एउटा देखिने योजना तत्काल पठाउने प्रतिवद्धता दिएर सांसद किराती अघि लागे । हामी समेत न्यानो आतिथ्यप्रति कृतज्ञ हुदैँ विदाइको हात हल्लायौं।

फेदीमा जीवन किराती प्रफुल्लित मुद्रामा हामीलाई स्वागत गर्न बसिरहेका रहेछन् । उनले खुसुक्क आफ्नो प्रगति बताए । केही ग्राहकलाई सहमत बनाएछन् । मैले बाटाभरि च्याक्सिलाको भावनात्मक आत्मियता सुनाएर उनलाई थकथक बनाए । साल्पा सिलिचुङ भने समय अभावले नगएको कुरा समेत बताएँ ।

०००

केहीदिन अघि जीवन किराती, राजन समीप सहितका टोली सोही ठाउँ पुगेछन् । स्थानीय तहको निर्वाचनदेखि पूर्णकालीन राजनीतिमा होमिइसकेका जीवन जीले फोन गर्दै भने, “ च्याक्सिला पुगेर साल्पा सिलिचुङ चाँडै चढ्ने योजना कहिले पूरा गर्ने ? ” अनि पो झसंग भइयो । च्याक्सिलाको त्यो यात्रामा सिलिचुङ नउक्लिँदा फेरि चाँडै आउने प्रतिवद्धता त्यहाँका दाइहरुसँग गरिएको थियो । उहाँहरुको आत्मीय निमण्त्रणा समेत थियो ।

सो यात्राका बेला च्याक्सिलामा सांसद किरातीले प्रतिवद्धता जनाए बापत सामुदायिक भवन निर्माणका लागि केही बजेट पठाएका रहेछन् । “ भवन त सोचेभन्दा गतिलो बनेछ । आयोजनाको बजेट रकम भन्दा झण्डै दोब्बर काम भएछ । ” राजनजीले सोही ठाउँबाट फोन गरेर जानकारी गराए ।

योजनाको थाक हामी शहर बजार केन्द्रीत गर्छौं । काम भने मुस्किलले २० प्रतिशत हुन्छ । तर दुरदराजका बस्तीमा योजना भन्दा दोब्बर काम गरेर स्थानीयले देखाउँछन् । अपेक्षा र गुनासा केही नभएका त्यस्ता बस्तीमा भावनात्मक आत्मीयता र विकासको नमुना मोडेल समेत सामुहिक रुपमा देखाउन सक्ने क्षमता रहेछ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।