निष्कर्षमा पुग्न नसकिने जीवनको 'अज्ञात यात्रा' !

भाद्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
निष्कर्षमा पुग्न नसकिने जीवनको 'अज्ञात यात्रा' !

-केशवराज आमोदी

जीवनलाई जिजीविषाले जगाउँछ, तिर्सनाले तगाउँछ र विचार तथा अनुभूतिले तिखार्दै गन्तव्यको शिखरमा पुर्‍याउँछ । साहित्यकार प्राय: संवेदनशील र स्वतन्त्रचेत हुनुका कारणले पनि बहुजन हिताय, बहुजन सुखायको परिकल्पना गर्दै 'सत्यं शिवं सुन्दरम्' को अन्वेषण गर्दछ र जीवनलाई तदनुकूल बनाउने भरसक चेष्टा गर्दछ । यस्तै विचार र भावनामा तरङ्गिँदै आफ्नै मौलिकपनको रेखा कोर्ने बहुमुखी प्रतिभाका स्रष्टा हुन्-चिरञ्जीवी दाहाल ।

२०२१ फागुन २३ गते पिता पं. ईश्वरीप्रसाद र माता कलादेवी दाहालका पुत्ररत्नका रूपमा गोर्खाको तान्द्राङ-३, मझिन्थोकमा दाहालको जन्म भएको हो । असाध्यै मर्मस्पर्शी आत्मपरक शैलीमा लेखिएको 'मुमूर्षा' ( २०७८ ), संयुक्त मुक्तकसङ्ग्रह 'समृद्धि' ( २०७७), दुई वटा संयुक्त गजल सङ्ग्रहसहित 'ग्रीष्मजा' (उपन्यास, २०८०) र बाघेझापु (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, २०८१ ) उनका सफल लोकप्रिय कृतिहरू हुन् ।

'बन्ध' शब्दको अगाडि 'नि' उपसर्ग लागेर 'निबन्ध' शब्दको निर्मित हुन्छ । यसको अर्थ राम्ररी बाँध्नु वा सङ्ग्रन्थन गर्नु वा विचारपूर्ण लेख तयार पार्नु हुनपुग्दछ वा यसो भनौं कुनै विषय वा शीर्षकमा केन्द्रित रहेर विस्तारपूर्वक विवेचना गर्नु नै निबन्ध हो । निबन्धबाट नै लेखकीय शैलीको परीक्षण गरिने हुँदा यसमा विचार र अनुभूतिको तीव्रतम खँदिलो उद्गार सन्निवेश हुन्छ । निबन्ध लेखनमा निबन्धकारले रूचिमुताबिक नै आत्मपरक वा वस्तुपरक ढाँचा अवलम्बन गर्न सक्दछ । वस्तुपरकतामा मात्र नभई आत्मपरकताभित्र पनि गहिरो वर्णनात्मकता र फराकिलो वैचारिकताको बेजोड प्रस्तुति नै वाञ्छनीय मानिने हुँदा लेखकीय कलाको मापन र क्षमता निबन्धको बुनोटबाट सहजै अनुमान गर्न सकिन्छ ।

उच्च प्रकारको आत्मपरक शैलीको नमुना महाकवि देवकोटा र शङ्कर लामिछानेका निबन्धबाट आस्वादन गर्न सकिन्छ । आत्मपरक निबन्धमा लेखक स्वयं विषयवस्तुका रूपमा उद्घाटित हुनेहुँदा भाव सघनता, उक्ति वैचित्र्य र मौलिक अभिव्यञ्जनाको अप्रतिम छटा आँकलन गर्न सकिन्छ । वैचारिकतापूर्ण प्रवाह लेखनमा भाषा र शैलीको परिष्कृत , परिमार्जित र सुगठित शब्दसंयोजनको चमत्कृति हुनुपर्दछ ।

कालिका नगरपालिका -६ चितवनमा, बसोबास गर्नुहुने दाहाल केही न केही लेखिरहने साहित्यिक अम्मल भएंका सत्पात्र हुन् । उनी जति विनयशील र अनुशासित छन् उति नै कर्तव्यनिष्ठ पनि छन् । उनको लेखाइमा गतिहीन सामाजिक परिवेश, अस्थिरतापूर्ण राजनीतिक उतारचढाव, विकृति र विसङ्गतिले धमिलिँदो धार्मिक, सांस्कृतिक र राजनीतिक आडम्बर, बढ्दो अमानवीयताजन्य क्रियाकलाप नै लेख्य-सामग्री रहेका छन् । यतिखेर साहित्यकार दाहालका 'बाघेझापु' ( हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह )को सुखद् सफलतापछि सरल , सरस र सहज शैलीद्वारा आत्मपरकशैलीमा लेखिएको नवीनतम निबन्धात्मक कृति 'अज्ञात यात्रा' प्रकाशित भएको छ । यस कृतिलाई कालीगण्डकी साहित्य परिषद्ले प्रकाशन गरेको हो । यो कृति लेखकको निबन्धविधाका हिसाबले दोस्रो र कृतिगत हिसाबले सातौं कृति हो । यस कृतिमा मध्यमाकारका समसामयिक विविध विषयहरूसित सम्बद्ध पैँतीसवटा सुन्दर निबन्धहरूको छनोट गरिएको छ । 

कतिपय निबन्धहरू त शीर्षकबाट नै सहजरूपमा प्रकट भएका पनि छन् । निबन्ध पढ्दै जाँदा प्रस्तुतिको चातुर्यता, वैषयिक निपुणता, विचारको गम्भीरता, तार्किकता, अध्ययनशीलता र हलुका हास्यव्यङ्ग्यका अभिव्यञ्जनाका मनमोही छनकहरू कतिपय अनुच्छेदहरूमा मुस्लिएर आएका पनि छन् । सङ्ग्रहमा सङ्गृहीत निबन्धहरू यस प्रकार छन्- " अन्तर्मुखी स्वभाव, अब ती दिन हाम्रा रहेनन्, असहिष्णुता, अज्ञात यात्रा, आलस्य, इमान्दारिता, ईर्ष्या, एउटा सामान्य सपना, कल्पना, किन लेख्ने ?, कोटसँगको मोहभङ्ग, को नहुँदा के हुन्छ ?, खुशी, चालिस वर्षअघिको ताहुँ, छैटौं इन्द्रीय, जिजीविषा र मुमूर्षा, जिज्ञासा, जीवन ईर्ष्या र गल्ती, जीवनको चित्र र बुढ्यौली उमेर, जीवनको सार, जीवन र मृत्यु, तीस वर्षअघि र आजको गाउँ, तीस वर्षपछि जन्मभूमि पुग्दा, धोका, पागल लाटोकोसेरो, परिवर्तन, बाँसुरीको धुनले आगो निभ्दैन, मनको दास, मागे बुढाको झोला, माटोको माया, मान्छेले के भन्लान् ?, मेरो जन्मभूमि मेरो तान्द्राङ, रहर र बाल्यकाल, वृद्धावस्था ईश्वरको वरदान हो तथा सुख जीवनको प्रधान सूचक होइन " जस्ता कर्तव्यबोधी , जीवनबोधी , युगबोधी र मानवताबोधी निबन्धहरू रहेका छन् ।

आख्यानको द्वारबाट साहित्यको सुन्दर महलमा प्रवेश गरेका निबन्धकार चिरञ्जीवीको विचार , चिन्तन र व्यक्तित्व उनका सृजनाहरूमा अवलोकन गर्न सकिन्छ । उनी इमानदार र स्वच्छ छवि भएका बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुन् । कालिका नगरपालिकामा बसोबास गर्दै आएका भए पनि राष्ट्रिय व्यक्तित्व बनाइसकेका साहित्यकार हुन् ।

जीवन एक प्रकारको यात्रा त हो तर यो अज्ञात यात्रा बन्दै कतिखेर निख्रन्छ ? चेतनशील मानिसले पत्तै पाउँदैन । यो यात्राका क्रममा साहित्यकारले भने प्रशस्त पदछाप छोड्दछ । निबन्धकार दाहालले मौन-मौन नै जीवनको विश्लेषण , आदर्श र उदारतालाई निबन्धमा कसिलो गरी बाँधेका छन् । प्राय: सबै निबन्धले मानवीय मूल्य र मान्यताका पताकालाई फरफराएका छन् । जीवनको बारेमा घन्टौं बहस चलाइए पनि निष्कर्षमा पुग्न नसकिने विषयचाँहि अवश्य हो तर यही दुरूह चुनौतीलाई सहजरूपमा स्वीकार्दै भन्छन्- " मेरो आवाज, मेरो मौनता, मेरो रङ्ग र मेरो रङ्गहीनता नै मेरो पहिचान हो र मेरो जीवन हो ।" कति मीठो स्वीकारोक्ति ? हुन पनि कतै आवाज दिनुपर्ने, कतै मौनता साँध्नु पर्ने, कतै दौडनु पर्ने र कतै बिसाउनु पर्ने गरी जीवनले अज्ञात यात्रा तय गर्दछ ।

बिम्ब , प्रतीक र दृष्टान्तले निबन्ध साह्रै रोचक, घोचक र मार्मिक बन्नुका साथै पठनीय र सङ्ग्रहणीय बनेको छ । सुन्दर कृतिका लागि निबन्धकार दाहाल र प्रकाशक कालीगण्डकी साहित्य परिषद्लाई हार्दिक बधाइ !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.