काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई दिइने भएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले एक विज्ञप्ति जारी गरि वि.सं. २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गर्ने निर्णय गरिएको जनाएको हो ।
रमेश भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्राको बर्णन छ । त्यस क्रममा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा पुस्तकमा उतारिएको छ ।
प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको पनि प्रतिष्ठानले जनाएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् । त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा अभी सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनुभयो ।