‘नेपाल कला तथा सांस्कृतिक महोत्सव-२०२५’ भदौ २० देखि काठमाडौंमा हुने

भाद्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘नेपाल कला तथा सांस्कृतिक महोत्सव-२०२५’ भदौ २० देखि काठमाडौंमा हुने

काठमाडौं । सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा भदौ २० गतेदेखि असोज ११ गतेसम्म ‘नेपाल कला तथा सांस्कृतिक महोत्सव, २०२५’ आयोजना हुने भएको छ ।

नेपाल कला परिषद् र पर्यटन विकास बोर्डको आयोजना तथा विभिन्न निकायहरुको सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो । आइतबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल कला परिषद्का महासचिव विकासरत्न ढख्वाले महोत्वको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने जानकारी दिनुभयो । 

उहाँले महोत्सवमा उपत्यकाका जिल्लाहरूमा मनाइने विभिन्न जात्रा, नेपाली सेनाको सांस्कृतिक प्रस्तुती लगायत र यसबीचमा पर्ने जात्राहरूलाई भव्यताका साथ मनाउने गरी आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो ।

महोत्सवले नेपालमा मात्रै नभई विदेशमा समेत ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य राखेको छ । “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरू हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ/संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत-नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ । 

यसरी उपत्यकाका पुराना शहर– काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन शुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.