काठमाडौं । यस वर्षको मदन पुरस्कार-२०८१ लेखक छुदेन काविमोको कृति ‘उरमाल’लाई प्रदान गरिने भएको छ। शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले उक्त निर्णय गरेको हो।
त्यसैगरी, लोकभाका संकलन र संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रेमदेव गिरीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गुठीले गरेको छ।
गुठीले यसअघि मदन पुरस्कारका लागि छानेका पुस्तकहरूको सूची सार्वजनिक गरेको थियो। उक्त सूचीमा काविमोको ‘उरमाल’सँगै रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संवाद’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ तथा तीर्थ गुरूङको ‘हिउँको गीत’ परेका थिए।