पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलुखुम्बु तथा संखुवासभाको सीमाक्षेत्रभित्र करिब एक दशकअघि एउटा पदमार्गको पहिचान भयो, जसलाई “मुन्दुम पदमार्ग” नाम दिइयो। नयाँ पर्यटकीय गन्तव्यको रूपमा घोषणा भएको यो पदमार्गसँग मुन्दुमी दर्शनसँग जोडिएका कैयौँ मिथक, सांस्कृतिक विम्ब, तथा प्राकृतिक र धार्मिक महत्वका सम्पदाहरू गाँसिएका छन्।
पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू छन्, जहाँ ‘मुन्दुम’ नामक मौखिक ग्रन्थमा वर्णित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे नजिकबाट बुझ्न र अनुभूति गर्न सकिन्छ।
पदमार्गका महत्वपूर्ण स्थल मैयुङका पाखाभित्तामा जन्मी, हुर्की, पछि शहर पसेका श्याम सामसाेहाङ राई डेढ दशकअघि पुनः गाउँ फर्किए। उनी केवल जन्मिएको जिल्लाका लागि मात्र होइन, पूर्वी पहाडकै लागि आकर्षक पदमार्गको गन्तव्य बनाउने अभियानमा सक्रिय बने।
शहर छिरेर गायकजीवनमा रमाइरहेका श्याम साम्सोङ राईले मुन्दुम पदमार्गको परिकल्पना कसरी गरे? उनी र उनका टिमले सुरुवाती दिनमा भोगेका संघर्षहरू कस्ता थिए? यिनै अनुभव र सम्झनालाई पुस्तक “मुन्दुम ट्रेल” मा राईले सजीव ढंगले प्रस्तुत गरेका छन्।
भोजपुर र खोटाङको सीमाना तावाभन्ज्याङबाट सुरु हुने पदमार्ग टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी हुँदै सिलिचुङडाँडाको उचाइसम्म विस्तार भएको छ, जुन समुद्री सतहबाट ४,१५५ मिटर अग्लो छ। डाँडैडाँडा हुँदै यात्रा गर्दा थकानको अनुभूति नहुने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से जस्ता ८,००० मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ। यसबाहेक ३३ वटा हिमश्रृङ्खला र तराईको भूभाग समेत अवलोकन गर्न सकिन्छ।
पुस्तकमा पदमार्गको सिलसिलेवार वर्णन गरिएको छ। फराकिला चौरीखर्क, भेडीगोठ, डाँडाको शिरैशिर फुल्ने गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी र घना जंगल यस क्षेत्रको सौन्दर्य हुन्। ठूला घाँसे मैदानहरू यसको अर्को आकर्षण हुन्। मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विविध प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीरमाहुरी, र जंगली जनावरहरू यहाँको विशेषता हुन्।
लेखकले उल्लेख गरेका छन् कि सन् २०१० सालमा सगरमाथा चढ्न गएका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पनि यही पदमार्गको रुट प्रयोग गरेका थिए। त्यसैले यो पदमार्गलाई “ग्रेटर मुन्दुम ट्रेल”को रूपमा सगरमाथासम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको कुरा पुस्तकमा सिलसिलेवार उल्लेख गरिएको छ।
फोटोग्राफीमा रुचि राख्ने राईले एक्लै सात दिन लगाएर गरेको सुरुवाती पदमार्गको पहिचान निकै चुनौतीपूर्ण थियो। यद्यपि उनको बाल्यकाल यही परिवेशमा बितेकाले ती दुर्गम भेगहरू उनीभित्र गहिरो रुपमा गढिएका थिए। पुस्तक पढिरहँदा र पदमार्गमा यात्रा गरिरहँदा उनको सुरुवाती भोगाइसँग पाठकको मन समेत स्याँ स्याँ हुनेगरी जोडिन्छ।
मौखिक ग्रन्थ मुन्दुम का लय, मिथक, कथा, कथाबस्तु, परम्परागत ज्ञान र सिप उनले आफ्ना अनुभवहरूसँग जोडेर समेटेका छन्।
स्थानीय तह, प्रदेश र संघीय सरकार तथा पर्यटनसँग सरोकार राख्ने निकायहरूसँग समन्वय गरेर आजको स्वरुपमा ल्याउन गरिएको कसरत पुस्तकमा उल्लेख गरिएको छ। सदरमुकामबाट निकै दुर्गम मानिने ती स्थलहरूमा संरचना निर्माण र त्यो पनि सिमित समय र बजेटमा सम्पन्न गरिनु कुनै सजिलो काम थिएन।
प्राकृतिक सौन्दर्यसँगै त्यस क्षेत्रमा महोत्सव आयोजना गर्ने आँट गर्नु पनि सामान्य कुरा थिएन। तर तीनदिने भव्य महोत्सव मैयुङ हाँसपोखरीमा सम्पन्न भयो। पछि सोही स्थानमा भवन निर्माण गरी पदमार्ग यात्रुका लागि सुविधा सम्पन्न बनाइएको छ। घण्टौँ पैदल हिँडेर मात्र पुगिने स्थानमा भएका ती कार्यहरूका कष्टपूर्ण विवरण पुस्तकमा समेटिएका छन्।
लेखकमा आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने हुटहुटी प्रष्ट देखिन्छ। सावालुङ र महभीर झरनामा क्यानोनिङ, रक क्लाइम्बिङ, रक गार्डेनजस्ता सम्भावनाको खोजी गर्दै तयार पारिएको डिपिआर लगायतको विवरण पनि समेटिएको छ।
संघीय राजधानीमा व्यवसाय र परिवारको जिम्मेवारी बीच उनीसँग आफ्नो जन्मथलोको उज्यालो भविष्यको सपना बाँकी नै छ। पुस्तकभरी उनका सपनाप्रतिको दृढता झल्किन्छ।
“मुन्दुम ट्रेल” पदमार्गमा जान चाहनेहरूले यस पुस्तकलाई गाइडबुकको रूपमा प्रयोग गर्न सक्छन्। पदमार्गका अधिकांश विवरण समेटिएकाले यो यात्रुका लागि उपयोगी छ। लेखकले आफ्ना अनुभव ईमानदारीपूर्वक प्रस्तुत गरेका छन्।
यद्यपि, पुस्तक छोटो अवधिमा प्रकाशन गरिएको हुनाले कतैकतै प्रस्तुतीकरण अलिक अव्यवस्थित देखिन्छ। यसले पाठकलाई कतिपय ठाउँमा अलमल्याउन सक्छ। लेखकको पहिलो संस्मरणात्मक कृति भएकाले रोचकता थप्न सकिने ठाउँ प्रशस्तै भए पनि ती पूर्ण रूपमा प्रयोग गरिएको छैनन्।
तर पुस्तकसँगै मुन्दुम ट्रेलको यात्रा गर्दा लेखकका मनोभावनासँगै पाठक डुलिरहन्छन्। कहिले कथा, कहिले उपकथा सँगसँगै बगिरहँदा यात्राको मूल विन्दुमा फर्कन कठिन हुन सक्छ, तर यात्राको अनुभव भने जीवन्त रहन्छ।
समग्रमा, “मुन्दुम ट्रेल” श्याम साम्सोङ राईका लागि व्यक्तिगत संस्मरण भए पनि यसले मुन्दुम पदमार्गको प्रारुप तय गर्न योगदान पुर्याउने पात्रहरूको सामूहिक प्रयास देखाउँछ। किराती सौन्दर्य, मुन्दुमी मिथक र सांस्कृतिक गाथाहरू समेटिएको यो कृति पूर्वी नेपालको एक वैकल्पिक पर्यटकीय भविष्यको दस्तावेज हो।
पूर्वी नेपालतिरको बोलिचालीको शैलीअनुसार सरल भाषामा लेखिएकाले पुस्तक सहज रूपमा बुझ्न सकिन्छ। सानो आकारको यो पुस्तक एकै बसाइमा पढ्न सकिन्छ र पढेपछि मुन्दुम पदमार्गको यात्रा तपाईँको योजना बन्ने निश्चित छ। पुस्तक साथमा लिएर मुन्दुम ट्रेलमा निस्कँदा यो उत्कृष्ट गाइड सावित हुनेछ।
हाल बेलायतको राजधानी लण्डनको अल्डरशटमा बसोबास गरिरहेका लेखकले केही समयपछि मुन्दुम ट्रेलकै विकास र उन्नयनमा समय, ऊर्जा र जीवन समर्पण गर्ने सपना पुस्तकमा व्यक्त गरेका छन्। बाध्यताले परदेश पुगेका मानिसको मनोविज्ञान पुस्तकमा झल्किन्छ, रहरभन्दा बाध्यता ठूलो हुँदा पनि आफ्नो माटोसँगको नाता गुम्दैन।
पुस्तकको अन्त्यतिर उनले भनेका छन्– केही वर्षभित्र श्याम झोला बोकेर फेरि फर्किनेछन् र लेखिनेछ अर्को पुस्तक “मुन्दुम ट्रेल भाग २”।