काठमाडौं । शारदा साहित्यिक पत्रिकाको 'हस्तलिखित कविता अङ्क' को काठमाडौंमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार पुष्कर लोहनीको प्रमुख आथित्यमा उहाँकै निवासमा आयोजित विशेष कार्यक्रममा शारदाको हस्तलिखित कविता अंक उपस्थित स्रष्टाहरुले सामुहिक रुपमा विमोचन गरेका हुन् ।
सम्पादक विमल भौकाजीले श्रष्टाका अक्षरलाई जोगाइराख्न हस्तलिखित अंक प्रकाशन गरेको बताउनुभयो । उहाँले ६७ जना कविहरु यसमा समेटिएको जानकारी पनि दिनुभयो । यस अंकमा कविहरूमा दिनेश अधिकारी, अशेष मल्ल, किशोर पहाडी, कृष्ण बाउसे, उषा शेरचन, दीपक लोहनी, भागीरथी श्रेष्ठ, प्रदीप सापकोटा, अनुराधा ढकाल, डा. विप्लव ढकाल, डा. रूपक श्रेष्ठ, विनोद नेपाल, सुनील पुरी लगायत समकालीन साहित्यका सशक्त हस्तीका कविताहरु समेटिएको छ ।
त्यसअवसरमा कविता अंकभित्र रहेका केही कविताहरु वाचन गरिएका थिए । कविहरु उषा शेरचन, गीता कार्की, रमि प्रिया, दुर्गा तिवारी लगायतले कविता वाचन गरेका थिए । आसन्न तीज पर्वको अवसर पारेर नारी स्रष्टालाई मात्रै कविता वाचनका लागि अवसर प्रदान गरिएको आयोजकले जनाएका छन् ।
वि.सं.१९९१ मा सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादनमा काठमाडौंबाट शुरुआत भएको शारदा देशको जेठो साहित्यिक पत्रिका हो । ‘शारदा’ बाटै कवि शिरोमणि लेखनाथ पौड्याल नाट्य सम्राट् बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ देखि राष्ट्रकवि माधवप्रसाद घिमिरे अनि भवानी भिक्षु जस्ता कालजयी प्रतिभाहरूले आआफ्ना सिर्जनाहरू प्रकाशन गर्ने अवसर पाएका थिए । पछि प्रकाशन रोकिएको शारदा पत्रिकालाई निरन्तरता दिने कार्य साहित्यकार एवम् सम्पादक विमल भौकाजीले गरिरहेका छन् ।