को को बने नेशनल म्युजिक अवार्डका उत्कृष्ट ?

असार २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
को को बने नेशनल म्युजिक अवार्डका उत्कृष्ट ?

काठमाडौं । नेशनल म्युजिक अवार्ड्स (एनएमए) २०८१ बाट उत्कृष्ट नवगायकको अवार्ड आरसी रिमालले प्राप्त गर्नुभएको छ । उहाँले गीत ‘जे हुनु थियो भइसक्यो’बाट उत्कृष्ट नवगायकको अवार्ड जित्नुभएको हो ।

शनिबार गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको कार्यक्रममा शान्तिश्री परियारले उत्कृष्ट लोक गायिकाको अवार्ड जित्नुभयो । गीत ‘तिमी र म जाम माया’बाट उहाँले यो अवार्ड प्राप्त गर्नुभएको हो । यस्तै गीत ‘करिम’बाट प्रकाश दूतराजले उत्कृष्ट लोक गायकको अवार्ड जित्नुभयो ।

१४ विधामा वितरण भइरहेको अवार्डमा उत्कृष्ट रचनाकार भूषण खरेलले जित्नुभयो । उहाँले गीत ‘जान्छौ भने’बाट उत्कृष्ट रचनाकारको अवार्ड प्राप्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट आधुनिक गायिका टीका प्रसाईंले प्राप्त गर्नुभयो भने उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले जित्नुभयो । प्रसाईंले ‘ए जिन्दगी’बाट उत्कृष्ट गायिकाको अवार्ड जित्दा परियारले गीत ‘चुपचाप’बाट उत्कृष्ट गायकको अवार्ड प्राप्त गर्नुभएको हो ।

कार्यक्रममा उत्कृष्ट पार्श्व गायकको अवार्ड एसडी योगीले प्राप्त गर्नुभयो । उहाँले फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’बाट उक्त अवार्ड प्राप्त गर्नुभएको हो । यस्तै उत्कृष्ट पार्श्व गायिकाको अवार्ड समीक्षा अधिकारीले प्राप्त गर्नुभयो । उहाँले फिल्म ‘बोक्सीको घर’को गीत ’बुझिनँ मैले’बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड जित्नुभएको हो ।

यसैगरी उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीले जित्नुभएको छ । उहाँले गीत ‘चुपचाप’बाट उत्कृष्ट संगीत निर्देशकको अवार्ड प्राप्त गर्नुभएको हो ।

यसैगरी नेशनल म्युजिक अवार्डस्‌मा उत्कृष्ट ब्यान्डको अवार्ड कुम: सागर एन्ड द ख्वप ब्यान्डले प्राप्त गरेको छ । कुम: सागर पछिल्लो समयका लोकप्रिय गायक हुनुहुन्छ ।

यस्तै उत्कृष्ट हिपहप एन्ड आरएनबीको अवार्ड ब्रिजेश श्रेष्ठले प्राप्त गर्नुभएको छ । उहाँले गीत ‘मुटुमै बसेर’बाट उत्कृष्ट हिपहप एन्ड आरएनबीको अवार्ड प्राप्त गर्नुभएको हो । यो विधामा भने रेडियो कान्तिपुरले पहिलो पटक अवार्ड दिएको हो ।

एनएमएमा यस वर्ष उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङले प्राप्त गर्नुभयो । उहाँले गीत ‘बीच भाइब्स’मार्फत उत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गर्नुभएको हो । उत्कृष्ट पप गायकको अवार्ड भने सुशान्त केसीले प्राप्त गर्नुभयो । उहाँले गीत ‘बार्दली’बाट उत्कृष्ट पप गायकको अवार्ड प्राप्त गर्नुभएको हो ।

अवार्डको आयोजना रेडियो कान्तिपुरले गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.