राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको 'मेरो जीवनयात्रा' लोकार्पण

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिकर्मी तथा समाजसेवी पोखरेलको 'मेरो जीवनयात्रा' लोकार्पण

काठमाडौं । नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य नर्बदा पोखरेलको मेरो जीवनयात्रा नामक पुस्तकको असार ३१ गते एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। 

आफ्नो शिक्षण जीवनको ४० वर्ष र त्यो भन्दा अगाडिको विद्यार्थीकालीन जिन्दगी भाडाको कोठामा बसेर, पारिवारिक पृष्ठभूमी सामान्य रहेको राजधानीकै ललितपुरकी नारीले अध्ययनसँगै अध्यापन गर्दाको संघर्ष तथा पछिल्लो समय राजनीति र समाजसेवामा समेत अग्रसर गरिएका अध्यायहरू पुस्तकमा समेटिएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री एवम् माननीय प्रतिनिधि सभाका सांसद गगन कुमार थापाले बिमोचन गरेको उक्त पुस्तकमा पोखरेलले श्रीमान्, छोराछोरी र अन्य परिवारको साथले स्नातकोत्तर सम्मको अध्ययन गर्न सफल हुन सकेको र नारी एउटा घर, समाज र राजनीतिलाई संगसंगै कसरी व्यवस्थापन गर्न सक्छिन् भन्ने अनुभव धाराप्रवाह रूपमा लेखिएको छ। प्रकाशक स्वयं पोखरेल रहेकी उक्त पुस्तकको सम्पादन भने नेपाली भाषा विज्ञ हरि अधिकारीले गरेका छन्।

झन्डै ३ सयको हाराहारीमा उपस्थीत उक्त समारोहमा राजनीतिज्ञ, पुर्व शिक्षक, समाजसेवी, पत्रकारलागायत पोखरेल परिवारको बाक्लो उपस्थिति रहेको थियो। पोखरेलले आफ्नो जीवन कालमा हालसम्म आफुलाई सहयोग र उर्जा प्रदान गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै आफु परिवार, शिक्षण पेशा, समाजसेवा तथा राजनीतिक जीवनमा समेत सन्तुष्ट हुनसकेको ब्यक्त गर्नुभयो भने सम्पादक अधिकारीले पुस्तकको संछिप्त परिचय दिनुभएको थियो। 

समारोहमा उपस्थित नेपाली कांग्रेसका नेतागण तथा कार्यकर्ता, पूर्व शिक्षक तथा सहकर्मी, एवम् सामाजिक अभियन्ता तथा परिवारका सदस्यले समेत पोखरेलको अथक परिश्रम तथा योगदानबारे खुलेर प्रशंसा गरे भने प्रमुख अतिथि गगन थापाले नर्बदा पोखरेलजस्ता हजारौं मन सफा रहेका, मेहनती कार्यकर्ता नै नेपाली कांग्रेसका बलिया स्तम्भ रहेको जिकिर गर्दै शुभकामना संदेश दिएका थिए।

साथै, पहिलो पुस्तक भएको कारण पाठकले पढेर अमूल्य प्रतिक्रिया, समीक्षा तथा टिप्पणी राखिदिए आभारी हुनेछु पोखरेलको भनाइ छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.