नेपाली कांग्रेस नेतृत्वको मौनता र गुटबन्दीले पार्टी संकटमा !

श्रावण ८, २०८२ |प्रकाश बम
नेपाली कांग्रेस नेतृत्वको मौनता र गुटबन्दीले पार्टी संकटमा !

काठमाडौं । नेपाली कांग्रेस यतिबेला नेतृत्वको मौनता, आन्तरिक गुटबन्दी र सत्तामा सीमित उपस्थितिका कारण संकटमा फसेको छ । 

संसद अवरूद्ध छ, सरकार आलोचनाको केन्द्रमा छ, तर सत्तासाझेदार नेपाली कांग्रेस भने निष्क्रियता र मौनताको अभ्यास गर्दै बसेको छ । सरकारका कतिपय मन्त्रीविरुद्ध प्रश्न उठिरहेका बेला कांग्रेस नेतृत्व सत्ता समीकरण जोगाउनैमा केन्द्रित देखिएको छ। 

सार्वभौम संसद ५९ दिनदेखि कांग्रेसकै गृहमन्त्री रमेश लेखक माथिको प्रश्नका कारण ठप्प छ। सरकार चौतर्फि आलोचनाको केन्द्रमा छ । प्रधानमन्त्री एक वर्षको उपलब्धिको व्याख्यामा व्यस्त हुनुहुन्छ तर त्यसभन्दा बढि विरोधीको आलोचनामा उहाँको समय खपत भइरहेको छ । 

मन्त्रीहरूका घुस मोलमोलाइका एकपछि अर्को प्रकरण बाहिरिइरहेका छन्। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र कांग्रेस एमालेमध्ये एकलाई फकाएर सत्तामा पुग्ने लालसामा छ । 

यता राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी आ-आफ्नै हठमा उभिएका छन् । यस्तो जटिल राजनीतिक परिस्थितिमा सरकारको सबैभन्दा ठूलो दलका रूपमा कांग्रेसले अग्रसरता लिनुपर्ने थियो तर पार्टीको व्यवहार त्यसको ठीक विपरीत छ। 

एमालेसँग सत्ता साझेदारीमा केन्द्र र प्रदेश सरकारमा सीमित भागीदारीमा चित्त बुझाएको कांग्रेस समिकरण जोगाउनमै बल लगाइरहेको छ। संघ सरकारमा १० मन्त्री र तीन प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी पाएको कांग्रेसले एमालेसँगको सहकार्यलाई नै सफलता मानेको छ। 

सभापति शेरबहादुर देउवा, ओलीपछिको प्रधानमन्त्री पदको प्रतीक्षामा रहेको टिप्पणीहरू भइरहेका छन्। नागरिक असन्तुष्टि चुलिँदा सरकारको कामबारे आलोचनात्मक हुनुपर्ने कांग्रेसको स्वर मधुरो छ।

सभापति शेरबहादुर देउवाको मौनतामाथि खुला प्रतिवाद गर्ने आँट कसैमा देखिएको छैन। पार्टीको आन्तरिक विपक्षी धारका नेताहरू समेत निर्णायक कदम चाल्न असफल छन्। 

शेखर कोइराला नेतृत्वको असन्तुष्ट पक्ष सरकारबारे खरो प्रतिक्रिया त दिन्छन्, तर यो समूहका गतिविधि पार्टीको आगामी महाधिवेशनकेन्द्रीत भन्दा बढि देखिँदैन । पार्टी उपसभापति पुर्णबहादुर खड्काको त झन् बोलि नै फुट्दैन । 

खड्काको मौनता पनि पार्टीभित्र आलोचित बन्दै आएको छ। पार्टीभित्र चर्किंदै गएको आन्तरिक द्वन्द्व, नेतृत्वको अनिर्णय र गुटगत संघर्षबीच उहाँ कतै बोलेको सुनिँदैन । बोल्दा देउवाको समुहबाट बाहिर परिएला भन्ने डर छ । 

पार्टीका शक्तिसाली महामन्त्री गगन थापा पनि महत्वपूर्ण मुद्दाहरूमा चुपचाप देखिन्छन् । बरू सभापति देउवासँग सामीप्यता बढाउँदै उहाँ पनि नेतृत्वकै लागि तयारीमा देखिनुहुन्छ । 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा सार्वजनिक बहसमा सक्रिय देखिए पनि पार्टीभित्रको सन्तुलनमा हस्तक्षेप गर्ने स्थिति छैन। नेताहरूको यही प्राथमिकताले पार्टीलाई निष्क्रियता र मौनताको अवस्थामा पुर्याएको छ ।

नेपाली कांग्रेसभित्र पूर्वपदाधिकारीहरूको अर्को समूह छ, जुन चिया छलफल’ र भेटघाट’मै सीमित छ। महाराजगञ्जदेखि सानेपा, बानेश्वरसम्मका विभिन्न नेताहरूको निवासमा छलफल गर्छ र आफुमध्येवाट एक जनालाई उत्तराधिकारी तोक्नुपर्ने माग सभापतिलाई राख्छ । 

यो समुहका सबै नेतालाई देउवाको सदासयताले सभापति बन्नु छ । अनि शेखर कोइराला, पुर्णबहादुर खड्का र गगन थापालाई रोक्नु छ । कांग्रेसभित्रको यो अवस्था पार्टीका लागि आगामी निर्वाचनमा महँगो साबित हुन सक्ने विश्लेषकहरूको चेतावनी छ ।

कांग्रेसका समर्थक चरम निराशामा छन् भने कार्यकर्ताहरू पनि गुटअनुसार विभाजित छन् देउवा निकट कार्यकर्ता सभापतिको जयजयकारमा छन् । शेखर-गगन समर्थकहरू भने रणनीति नहुँदा अन्योलमा छन्।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।