नगरकोट भ्रमण वर्ष-२०८२ अवसरमा चाँगुनारायण कला तथा साहित्य महोत्सव सम्पन्न

असार ३१, २०८२ |सुन्दर शिल्पकार
नगरकोट भ्रमण वर्ष-२०८२ अवसरमा चाँगुनारायण कला तथा साहित्य महोत्सव सम्पन्न

भक्तपुर । नगरकोट भ्रमण वर्ष-२०८२ काे अवसर पारेर चाँगुनारायण नगरपालिकाले चाँगुनारायण कला तथा साहित्य महाेत्सव सम्पन्न गरेको छ । 

नगरपालिकाले विश्व सम्पदा स्थल चाँगुनारायण मन्दिर परिसरमा सो महोत्सव सम्पन्न गरेको हो । "चाँगुनारायणमा कला, कलामा साहित्य" भन्ने नारालाई आत्मसात गरेर नगरपालिकाले आयोजना गरिएको सो महोत्सवमा चित्रकलाई आधार बनाएर कविहरूले कविता वाचन गरेका थिए । 

केही समय अघि चित्रकारहरूले नगरपालिका भित्रका पर्यटकिय स्थल अवलाेकन गरी चित्र काेरेका थिए । महोत्सवमा ३३ जना कविहरूले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता वाचन गर्ने कवि एवं चित्र कोर्ने कलाकारलाई कदरपत्रसहित सम्मान गर्नुभयो । उहाँले मठमन्दिर बनाएर मात्रै हुँदैन भन्दै कला, संस्कृति र भाषालाई जोगाएर विश्वमाझ पस्कन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । 

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले नगरपालिका कला, साहित्य, सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्न सधैँ तत्पर रहेको भन्दै त्यसका लागि नगरपालिका साहित्यिक प्रतिष्ठान स्थापना गरिने बताउनुभयो । 

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, शङ्करापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगनारायण नगरपालिका-४ का वडाध्यक्ष रोजबहादुर तामाङ, समीक्षक गुरूङ सुशान्त र कुमारी लामाले कला र साहित्यको फ्युजनका रूपमा आयोजना गरिएको महोत्सव उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई अरू पालिकाले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।