काठमाडौं । वरिष्ठ गीतकार तथा कवि कालीप्रसाद रिजालको अध्यक्षतामा वासु शशी स्मृति परिषद्को कार्यसमिति पुर्नगठन गरिएको छ ।
काठमाडौंमा सम्पन्न परिषदको साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्दै संस्थागत विकासतर्फ महत्वपूर्ण निर्णयहरू पारित गरेको हो ।
सभाले कालीप्रसाद रिजाललाई परिषद्को अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’, सदस्य–सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान तथा सदस्यहरूमा ध्रुव मधिकर्मी, यादव भट्टराई र नीना जोशीलाई चयन गरेको छ। यस्तै, परिषद्को संरक्षकमा श्रीमती जुलुम बैद्य र सल्लाहकारहरूमा यादव खरेल तथा राधेश्याम लेकाली मनोनित हुनुभएको छ।
सभामा दिवङ्गत अध्यक्ष तथा वरिष्ठ सर्जक गणेश रसिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै २०८२ जेठ १८ गते पारित शोक प्रस्तावलाई स्मरण गरिएको थियो। साथै, परिषद्ले यसै वर्षदेखि ‘वासु शशी स्रष्टा पुरस्कार’ स्थापनाको निर्णय पनि गरेको छ, जसबाट सृजनशील स्रष्टाहरूलाई सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा परिषद्को प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएर छलफलसहित पारित गरिएको थियो। नयाँ कार्यसमितिले आगामी दिनमा साहित्यिक सृजनालाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।