काठमाडौं । साहित्यकार जीवा लामीछानेलाई यस वर्षको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको छ । लामिछानेको कृति ‘अक्षत अन्टार्कटिका’लाई सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा २०८१ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिएको हो ।
प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र उत्तम कुँवर स्मारक पुरस्कार गुठीका अध्यक्ष डाक्टर पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले लामिछानेलाई एक लाख रुपैयाँ राशिसहित ताम्रपत्र प्रदान गर्नुभएको हो । त्यस अवसरमा प्रमुख अथिति त्रिपाठीले लामिछानेको निवन्धमा नयाँ पन भेटिने र नयाँ पुस्ताका लागि उपयुक्त खुराक हुने बताउनुभयो । पुरस्कार ग्रहणपछि साहित्यकार लामिछानेले आफूलाई थप जिम्मेवार र लेखनमा सचेत हुन प्रेरणा मिलेको बताउनुभयो ।
त्यस अवसरमा समालोचक प्राध्यापक डाक्टर ज्ञानु पाण्डेले जीवा लामिछानेको ‘अक्षत अन्टार्टिका’मा रोमाञ्चक र जीवन्त अनुभूति पढ्न पाइने बताउनुभयो । लामिछानेको यसअघि देश देशावर र सरसर्ती संसार नियात्रा संग्रह प्रकाशित छ ।
‘रूपरेखा’का सम्पादक तथा निबन्धकार उत्तम कुँवरको स्मृतिमा उहाँकी धर्मपत्नी शान्ति कुँवरले ‘उत्तम पुरस्कार’को स्थापना गर्नुभएको हो । यो पुरस्कारबाट अहिलेसम्म मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, इल्या भट्टराई, सरुभक्त, भूपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, झमक घिमिरे, कृष्णचन्द्रसिंह प्रधान, लगायत सम्मानित भइसक्नुभएको छ ।