‘ऊनको स्वीटर’मा बिछोडको सौन्दर्य

जेष्ठ १४, २०८२ |सुरेन्द्र कट्टेल
‘ऊनको स्वीटर’मा बिछोडको सौन्दर्य

समीक्षामा जति सराहना भएको छ, दर्शकले पनि त्यति नै अनुमोदन गरिदिएका छन्- चलचित्र ऊनको स्वीटरलाई ।

नवीन चौहानको निर्देशनमा बनेको ऊनको स्वीटरको न्यानोपनलाई ग्रीष्ममा पनि उत्तिकै प्यारो मानिरहेका छन् दर्शकले । गीत, दृश्य, अभिनय होस् वा कथा ऊनको स्वीटरले एक एक धागोलाई स्नेहपूर्वक बुनेको देखिन्छ ।

पूर्वी पहाड । त्यसमा पनि पाँचथरका पाटन, लेक र बेंसीको भूगोलको आख्यानिक संसारको सयर रोमाञ्चक मात्रै छैन, भाव उद्वेलित गराउने खालका छन् ।

पाँचथरको लिम्बू बाहुल्य क्षेत्रमा बाहुन पात्र धरणीधर काफ्ले (विपिन कार्की) र गुरुङ पात्र फूल (मिरुना मगर) बीच फक्रने प्रेम नै चलचित्रको मूल विषय हो । तर सँगसँगै ५० को दशकमा पुगेर समानान्तर रूपमा भनेको छ लोक संस्कृति, पहिचानदेखि जातीय विभेदका उपकथाहरू ।

निश्चय नै, ऊनको स्वीटर प्रेमको कथा हो । तर त्यो प्रेमलाई ‘सफल’ वा ‘असफल’को विशेषण लगाउने जिम्मा दर्शककै हो । स्वच्छन्दताको आँखाबाट हेर्ने हो भने धरणी र फूलबीच झाँगिएको प्रेम, फूलका निम्ति धरणीको त्याग र समर्पण के ‘असफल’ प्रेम हुन सक्ला ? अर्कोतर्फ प्रेमको उद्देश्य विवाह हो भन्ने दृष्टिकोणले हेर्दा के धरणी र फूलको प्रेमलाई ‘सफल’ मान्न सकिएला ? ऊनको स्वीटरले उनेको प्रेमको धागो पर्गेल्न दर्शक स्वयं आख्यानिक संसारमा प्रवेश गर्नुपर्ने हुन्छ । फेरि, प्रेम पनि सफल वा असफल हुन्छ र ? प्रेमलाई पनि विशेषणको आभूषण लगाउन पर्छ र ? प्रेम त प्रेम हो, सफल वा असफल भन्नु केवल दृष्टिकोण मात्र त हुन् ।

फेरि ऊनको स्वीटरले प्रेम कथा मात्र भनिरहेको छैन । विछोडको सौन्दर्य पनि त देखाएको छ । यस्तो सौन्दर्य जसले पात्रका मनमा डुबुल्की मार्दै दर्शकको मनमा एउटा भावनात्मक कम्पन पैदा गर्छन् ।

अभिनयका हिसाबले हरेक कलाकारले आफ्नो पात्रलाई न्याय गरेका छन् । परीक्षा लिम्बूदेखि डेब्यु कलाकार एलेक्स पारससम्मले आफूलाई प्रमाणित गर्ने अवसर पनि पाएका छन् । सुनिल पोखरेल, माओत्से गुरुङ अनि विल्सनविक्रम राईको अभिनय सदा झैं जीवन्त छ । विपिन कार्की र मिरुनाको अभिनयले यिनका पात्र उनीहरूकै लागि बनाइएको भान हुन्छ । झुमा लिम्बूको लोक संगीतको झंकारदेखि ‘डायजेटिक’ साउन्डका रूपमा प्रयोग भएको सुजन चापागाईंको स्वर । चलिचत्रमा यिनले बेग्लै स्वाद पस्किएका छन् ।

निलो आकाशमुनि रातो फूलबुट्टे स्वीटरसहित यात्रा गरिरहेको धरणीको मनस्थिति रंगहरूको यस्ता संयोजनले पनि सुषुप्त रूपमा कहिरहेको हुन्छ ।

चलचित्रका सिनेमाटोग्राफी, लाइटिङ तथा सम्पादन जस्ता प्राविधिक पक्ष पनि नबिझाउने खालको छ । कथावाचनमा केन्द्रित हुँदा कला पक्ष थोरै ओझेल परेको महसुस भए पनि कथालाई न्यायसंगत ढंगले प्रस्तुत गरेकाले कला पक्षको अभाव नै भने हुँदैन ।

वर्षको पहिलो सुपरहिट चलचित्र ठहरिएको त छ नै, ऊनको स्वीटरले नेपाली सिनेमा इतिहासमा अमिट छाप पनि छोडेको छ ।


Image

सुरेन्द्र कट्टेल

सुरेन्द्र कट्टेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।