'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा तिवारी आमा सम्मानित

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
 'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा तिवारी आमा सम्मानित

काठमाडौं । 'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित हुनुभएकाे छ ।

नेपाल स्रष्टा समाजद्वारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोकलगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे ।

नगद २० हजार एक सय एघार नगद राशी, सम्मानपत्र र दोसल्लासहितको उक्त सम्मान लोकगीत सर्जक, गायिका पाल्पा, रामपूर निवासी तिवारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठले आमाप्रति माया र सम्मानभाव प्रकट गरेर आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादको पात्र हुन् । 

उहाँले अगाडि भन्नुभयाे, 'गाउँघरमा भएका दिदीबहिनीहर" पनि प्रतिभावान हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण लक्ष्मी तिवारी हुन् ।' समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्ने र सम्मान स्थापना गर्ने दुबैलाई धन्यवाद दिनुभयाे ।

यसअघि पुरस्कृत व्यक्तित्व तिवारी आमाको व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पार्दै पाल्पा रामपूर निवासी लक्ष्मी तिवारी-तिवारी आमाको नाउँले प्रख्यात भएकी बताउनुभयाे । 

डा. गिरिले समाजका विकृति र विसंगतिमाथि सिलोक, तीज गीत, रोइला रत्यौली गीतको माध्यमबाट पस्कने गरेको बताउनुभयाे।

विद्यालयमा जम्मा दुई कक्षामात्र पढेकी तिवारी नाँच्न पनि उत्तिकै निपूर्ण रहेको पनि जानकारी दिनुभयाे । 'तिवारी मौलिक लोकगीत गायन र सृजनामा सक्रिय छिन् । सामान्य लेखपढ गरेकी भएपनि समाजका विकृति र विसंगति विरुद्ध जुध्ने स्वभावकी उनी यस्ता कुराहरूलाई गीत, कविता तथा सिलोकमार्फत् प्रस्तुत गर्ने गर्दछिन् । तीजगीतहरूमा परदेशिएका नेपालीका पीडाहरू उनले उजागर गरेकी छिन् ।'

पुरस्कृत स्रष्टा तिवारीले उतिबेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले गर्दा पढ्न नपाएको बताउनुभयाे । उहाँले राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाउनुभयाे । उतिबेलाको छोरीको पीडा पनि गीतमा प्रस्तुत गर्नुभयाे । रामपूरको महिमा झल्कने सिलोक पनि सुनाउनुभयाे ।

कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरू सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाईलाई नेपाल स्रष्टा समाजले तोडेको बताउनुभयाे । 

रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गर्नुभयाे । गीतकार पुष्पा खनालले वि.सं.२०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गर्नुभएकाे हाे । ओझेलमा परेका नारी स्रष्टालाई उक्त सम्मान प्रदान गरिँदै आएको आयोजकले बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.