लेखक पशुपति घिमिरेका अंग्रेजी पुस्तक अमेरिकी सिनेटरद्वारा लोकार्पण

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
लेखक पशुपति घिमिरेका अंग्रेजी पुस्तक अमेरिकी सिनेटरद्वारा लोकार्पण

काठमाडौं । अमेरिकामा बसोबास गरिरहेका नेपाली लेखक पशुपति घिमिरेले हालै अंग्रेजी भाषामा प्रकाशन गरेका दुई पुस्तकहरू अमेरिकी सिनेटरले लोकार्पण गरेका छन्।

एमाजन डट् कममार्फत प्रकाशित पुस्तकहरू 'वान्डरिङ वर्ड्स' र 'थ्री डाइमेन्सन्स अफ बुद्धिजम' आइतबार भर्जिनियाको राजधानी शहर रिचमन्डमा आयोजित एक समारोहवीच भर्जिनियाका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्वर्ग, लेखक घिमिरे, नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनिया (एनसीआरभीए)का अध्यक्ष चन्द्र मल्ल, न्याकका सदस्य घनेन्द्र लामिछाने, रोशन घिमिरे र अन्य अतिथिले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

दुवै पुस्तक एमाजनमार्फत् विश्वभर अनलाइन र इ-बुक प्रारूपमा उपलब्ध छन्।

"वान्डरिङ वर्ड्स" (बरालिएका शब्दहरू) शीर्षक र "सम वेभ्स फ्रम थ्री कन्टिनेन्ट्स" (तीन महादेशका केही तरङ्ग) उपशीर्षक भएको यो नयाँ कृति एक नियात्रा संग्रह भएको र यसमा एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश देशमा गरिएका यात्राका १८ वटा साहित्यिक रसले भरिपूर्ण निबन्धहरू समावेश गरिएको लेखक घिमिरेले बताए ।

घिमिरेले यस कृतिको नेपाली संस्करण प्रकाशनका लागि पनि तयारी भइरहेको जानकारी दिए ।

उनको दोस्रो प्रकाशित पुस्तक "थ्री डाइमेन्सन्स अफ बुद्धिजम" सन् २०१३ मा नेपाली भाषामा प्रकाशित उनको पहिलो कृति "बुद्धवादका तीन आयाम" को अंग्रेजी संस्करण हो।

घिमिरेले नेपालमा करिब एक दशकसम्म पत्रकारिता गरेपछि अमेरिका प्रस्थान गरेका थिए। हाल अमेरिकामा बसेर निरन्तर साहित्य साधनामा संलग्न रहँदै यी दुई महत्त्वपूर्ण कृतिहरू अंग्रेजी भाषामा प्रकाशित गरेका छन्।

नेपाली लेखकले अंग्रेजी भाषामा यस्ता गहन कृतिहरू प्रकाशित गर्नु नेपाली साहित्य जगतका लागि गर्व र प्रेरणाको विषय भएको कार्यक्रम आयोजक संस्था नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनियाका अध्यक्ष चन्द्र मल्लले बताए ।

नेपाली नयाँ बर्ष २०८२ को स्वागत गर्दै करिब दुईसय नेपाली भेला भएको सो कार्यक्रममा सिनेटर भ्याकेनवर्गले नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनिया(एनसीआरभीए) लाई संस्थाको सक्रियता र योगदानको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.