काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले आज विज्ञप्ति जारी गरी वैशाख १७ गते काठमाडौंको कमलादीमा दुई पार्टीबीच एकीकरण घोषणा हुने जानकारी दिनुभएको हो । विज्ञप्तिमा दुवै दलका केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संगठनहरू तथा नेता कार्यकर्तालाई उपस्थित हुन आग्रह गरिएको छ ।
पार्टी एकीकरणका लागि जनमत पार्टीले १६ गते कार्यकारिणी समिति बैठक बोलाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि १५ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । दुवै दलले नागरिकता र मतदाता परिचयपत्रसहित बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।
एकतापछि बन्ने नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी रहने सहमति भइसकेको छ । नयाँ पार्टीको अध्यक्ष सीके राउत र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने टुंगो लागेको छ । त्यस्तै पार्टीको संरक्षकमा रेशमलाल चौधरीलाई राख्ने सहमति भएको छ । दुवै पार्टीमा हाल कायम केन्द्रीय सदस्यहरू नयाँ पार्टीमा पनि कायमै रहने छन् ।
नयाँ पार्टीको चुनाव चिह्न भने अहिले नागरिक उन्मुक्ति पार्टीको ढकिया राख्नेसमेत सहमति भएको छ ।