माईपोखरीमा पर्यटक बढाउन पूर्वाधार थप

वैशाख १३, २०८२ |विप्लव भट्टराई
माईपोखरीमा पर्यटक बढाउन पूर्वाधार थप

इलाम । इलामको प्रसिद्ध धार्मिक, जैविक महत्त्वको माईपोखरी क्षेत्रमा पर्यटक आर्कषणका लागि थप पूर्वाधार विकास गरिएको छ । माईपोखरी नजिकै रहेको जोर पोखरीलाई विस्तार र संरक्षण गर्दै आगन्तुकको समय लम्ब्याउने पहल गरिएको हो ।

इलाम सदरमुकामवाट १३ किलोमिटर उत्तरमा सन्दकपुर गाउँपालिकामा अवस्थित माईपोखरी क्षेत्र नेपालको मध्यपहाडी भूभागमा पर्ने पहिलो रामसार क्षेत्र हो । यो क्षेत्रलाई जैविक विविधता नष्ट नहुने गरी संरक्षण गरिएको छ । पोखरीदेखि केही तल रहेका पोखरीमा भने पर्यटकलाई आकर्षित गर्न सन्दकपुर गाउँपालिकाले डुङ्गा सञ्चालन गरेको छ । यस क्षेत्रलाई थप रमणीय र पर्यटनमैत्री बनाउने पालिकाको योजना छ ।

नयाँ वर्ष २०८२ सालसँगै सुरु भएको डुङ्गा सवारीको व्यवस्थाले माईपोखरी क्षेत्रको आर्कषण बढेको छ । पर्यटन मन्त्रालयमार्फत ४ करोड रुपैयाँभन्दा धेरैको लगानीमा पोखरी संरक्षण गरिएको हो । पोखरी र आर्कषक पार्क निर्माणका लागि ५८ रोपनी जमिन सञ्चालनमा आउने छ । यसका लागि थप योजना निर्माण भइरहेको पालिकाले जनाएको छ । 

नियमित र व्यवस्थित ढंगले डुङ्गा सञ्चालन हुन सके यस क्षेत्रमा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनेमा स्थानीय आशावादी छन् ।

पर्याप्त सम्भावना भएर पनि ओझेल परेको माईपोखरी क्षेत्रमा देशी विदेशी पर्यटक भित्र्याउन गरिएका प्रयास स्वागतयोग्य छन् । यस क्षेत्रको जैविक विविधता संरक्षण गर्दै आयआर्जनसाग जोड्ने गरी थप कार्यक्रम ल्याउन स्थानीयले दबाब दिएका छन् ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।