काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको महत्त्व थप बढेको बताउनुभएको छ । अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले नभई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने उहाँको भनाइ छ ।
चौथो एशिया बौद्ध सांस्कृतिक महोत्सवलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जल, थल र वायुबाट समेत आक्रमण गर्न सक्ने खतरनाक हतियारहरू निर्माण भइरहेको भन्दै त्यसलाई रोक्न शान्ति, करुणा र मानवताको उपदेशले मात्रै सम्भव हुने बताउनुभयो ।
महोत्सवमा १० विभिन्न मुलुकका भिक्षु, भिक्षुणी, बौद्ध विद्वान र उपासकहरू सहभागी छन् । ३ दिने महोत्सव वैशाख १५ गते समापन हुनेछ ।