सिन्धुलीको कलाघरमा महोत्सवको रौनक (फोटोफिचर)

चैत्र ३१, २०८१ |राजकुमार कार्की
सिन्धुलीको कलाघरमा महोत्सवको रौनक (फोटोफिचर)

सिन्धुली । कलाघर सिन्धुलीको आयोजनामा भइरहेको राष्ट्रिय कला महोत्सव अवलोकन गर्नेको संख्या दिनदिनै बढिरहेको छ ।

मौसमका कारण पहिलो दिन अवलोकन गर्नेको संख्या केही कमी भएपनि अहिले उत्साहजनक रहेको राष्ट्रिय कलाघर सिन्धुलीले जनाएको छ ।

विश्वका १९५ देशलाई कलामार्फत् एकतृत गरि वल्र्ड आर्ट हाउसको रूपमा विकास गर्ने दीर्घकालिन योजनासहित ७ दिने कला महोत्सवमा लापोन्मुख सामाग्रीको प्रदर्शनीका साथै सास्कृतिक सम्पदाले सजाइएको छ ।

राष्ट्रिय कलाघरलाई कलाकारको आश्रम, कला आविष्कार सृजना केन्द्र तथा सास्कृतिक विश्वविद्यालय बनाउन कला महोत्सवको आयोजना गरिएको परिकल्पनाकार तथा कलाघरका अध्यक्ष सुमन थापामगरले बताउनुभयो ।

महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरुको नमूना, मौलिक बाजागाजा, जातजातीहरुको झाँकी, रागटे पिङ, चित्रकला, अर्गानिक खानेकुरा, चियादानीमा पकाएको चिया, घरजत्रै ठेकीबाट मोहीलगायत महोत्सवका आकर्षण छन् ।

महोत्तसवमा लोपोन्मुख खैंजडी भजन, लोकदोहोरी, राष्ट्रिय कलाकारहरूको प्रस्तुती भइरहेको छ । कलाघर पुग्नको लागि बीपी राजमार्गको सोलाभन्ज्याङबाट सिन्धुलीगढी हुँदै ७ किलोमिटर पार गरेर चपौली पुग्नुपर्ने हुन्छ । 

कलाघरसम्म नै कालोपत्रे सडक भएकाले यात्रा सहज रहेको अध्यक्ष थापामगरले जनाउनुभयो । महोत्सवको उद्घाटन वाग्मती प्रदेसका मुख्यमन्त्री बहादुरसिंङ लामाले गर्नुभएको थियो। महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।