काठमाडौं । पहलमानसिंह स्वाँर साहित्य विशेष 'टीकापुर साहित्य महोत्सव'को दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्य रहेको महोत्सव विभिन्न विज्ञहरूको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
मन्तव्यका क्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियान भएको बताउनुभयो । प्राध्यापक अभि सुवेदीले भन्नुभयो, “टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सिर्जनात्मक शक्ति आर्जन गर्ने प्रयास रहेछ ।”
महोत्सवका संयोजक तथा अध्यक्ष मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभरि साहित्यको ग्ल्यामर बढाएको मत राख्नुभयो । द्वन्द्वको विषम् परिस्थिति भोगेको शहर भएकोले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको बताउनुभयो । साहित्य मार्फत सामाजिक सद्भाव नारा बोकेको महोत्सवको उद्घाटन सत्रमा उहाँले भन्नुभयो, “बिस्तारै टीकापुरको चेतना जागृत होला ।”
महोत्सवमा विद्वत प्रवचन दिँदै विश्लेषक हरि शर्माले संसद्मा लोकतन्त्र महसूस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवहरूले ‘मिनी लोकतन्त्र’को अभ्यास गर्ने अवसर दिएको विचार राख्नुभयो । महोत्सवको उद्घाटनकै क्रममा चित्रमय टीकापुर महोत्सव २०७९ स्मारिका समेत सार्वजनिक गरिएको थियो ।
महोत्सवमा २१ बहस सत्र रहनेछन् । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्नु हुनेछ ।
त्यसैगरी लेखकहरू बिन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नु हुनेछ । समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नु हुनेछ ।
मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, सुशीला तामाङ लगायतले सिनेमा, नाटक र कलाका विविध विषयमा छलफल गर्नु हुनेछ ।
महोत्सव फागुन २४ देखि २६ गते जारी रहनेछ ।