काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाउनुभएको हो ।
उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो । आन्दोलन गरिरहेका शिक्षकहरूमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरू घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनुभएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ? यसको म भर्त्सना गर्न चाहन्छु ।”
संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्नेमा पुराना ऐन र कानुनहरूका कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा अड्चन भएको पनि उहाँले बताउनुभयो । “यस्तो बेलामा शिक्षकका मागहरू सम्बोधन गरेर जानुपर्ने बेला तीन वटा सरकारले गरेका सम्झौता कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ”, उहाँले बताउनुभयो ।
शिक्षकका जायज मागहरू तत्काल सम्बोधन गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।