प्रकृति र मानव सम्बन्धलाई बुझाउने मुक्कुमलुङ

माघ १९, २०८१ |प्रकाश बम
प्रकृति र मानव सम्बन्धलाई बुझाउने मुक्कुमलुङ

काठमाडौं । काठमाडौं थापागाउँस्थित मण्डला नाटकघरमा लिम्बु समुदायको मिथक तथा इतिहासमा आधारित नाटक मुक्कुमलुङ प्रदर्शन भईरहेको छ । प्रकृति र मानव सम्बन्धलाई बुझाउने गरी प्रदर्शन भईरहेको नाटकले पछिल्लो समय पाथिभरा क्षेत्रमा बनाउन लागिएको केबलकारको विषयलाई समेत समेटेको छ । मुन्धुममा वर्णित कथा र मिथकलाई पछिल्लो पुस्तालाई इतिहास बुझाउने हेतुले नाटक प्रदर्शन गरिएको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंको मण्डला नाटकघरको प्राङ्गणमा लिम्बु समुदायको घरको झल्को दिने गरी सजाइएको स्थानमा लिम्बु लवजका तन्नेरी र बुढाखाडाहरु भेला हुन्छन् र सुरू गर्छन् मुन्धुमी मन्थन । पात्रहरूले अलिकति मुन्धुम नमिलेको कुरा र अलिकति पाथिभरा मुक्कुमलुङमा केवलकार बनाउने कुरामा माथापच्ची गर्छन् । पूर्वी पहाडको लवजमा पाखुरा सुर्कासुर्कीसम्म गर्न थालेपछि टिकट काटेकाहरू मात्र होइन सडकमा हिँडिरहेकाहरु समेत मण्डलाको गेटमा अचम्म मान्दै चिहाउन आइपुग्छन् ।

झण्डै २० मिनेटको मन्थन पश्चात आश्चर्य मान्दै टिकट लिएर लामबद्ध उभिएकाहरू नाटकघरमा छिर्छन्, । सबै नाटकघरभित्र प्रवेश गरेपछि अनि सुरू हुन्छ मूल कथा । मुन्धुम अनुसार मुजिङ्ना खेयङ्ना नै पहिलो मानिस हुन् । उनका छोरा सुसुवेन लालावेन बन्छन् पहिलो सिकारी । सिकार गर्न विभिन्न ठाउँ पुग्दै गर्दा उनको महिलाहरूसँग सम्बन्ध हुन्छ । प्रेम सम्बन्धमा परेका महिलाहरूबाट सन्तान समेत हुन्छन् तर सिकारमा हिँडेका सुसुवेन लालावेन सिकारकै क्रममा भोक र थकानले मृत्युवरण गर्छन् ।

नाटकका अधिकांश समय सुसुवेन लालावेन सिकारमा हिँडेका बेला प्रेममा परेको प्रसँगलाई देखाइन्छ । जीवजन्तु, हावापानी, ढुंगामाटो, वनजंगलसँगको मानवसम्बन्ध र तिनीहरूसँगको जीवन संवादलाई नाटकमा कलात्मक र श्रृंगारिक तवरमा प्रस्तुत गरिएको छ ।

मुजिङ्ना खेयङ्ना र उनका छोरा सुसुवेन लालावेन अर्थात् धर्तीका पहिला मानिसहरु अहिले पनि मुक्कुमलुङ बनेर उभिएको मान्यता स्थापित गर्नु खोजिएको छ । अहिले केवलकार निर्माण गर्न मुक्कुमलुङको आदिम इतिहास छोप्ने काम भएको भन्दै त्यसलाई सांस्कृतिक अतिक्रमणको निष्कर्ष नाटकले दिन खोजेको छ ।

नाटकले नयाँ पुस्ताले बुझ्नुपर्ने प्रकृतिसँगको मानव सम्बन्ध र पूर्वी पहाडका बासीहरूको पहिचानको वकालत गरेको छ । नाटक मण्डलामा माघ २७ सम्म प्रदर्शन हुने छ । 


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।