स्थानीयको पहल र आर्थिक सङ्कलनमा कल्भर्ट पुल पुनर्निर्माण, मन्थली-धोबी वैकल्पिक मार्ग सञ्चालन

असार १७, २०८२ |नवराज श्रेष्ठ
स्थानीयको पहल र आर्थिक सङ्कलनमा कल्भर्ट पुल पुनर्निर्माण, मन्थली-धोबी वैकल्पिक मार्ग सञ्चालन

रामेछाप । रामेछापको मन्थली नगरपालिका-२ र लिखु तामाकोसी गाउँपालिका-७ जोड्ने कठजोर खोलामा स्थानीयकै पहल र आर्थिक सङ्कलनमा कल्भर्ट पुल पुनर्निर्माण गरिएको छ । पुल निर्माण भएपछि मन्थली-ताप्के-धोबी वैकल्पिक सडक मार्ग सञ्चालनमा आएको छ।

गत वर्षको बाढीले कठजोर खोलाको कल्भर्ट बगाएपछि उक्त मार्ग अवरूद्ध भएको थियो। लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी दैनिक आवतजावतमा निकै समस्यामा परेका थिए। 

सम्बन्धित निकायमा पटक-पटक माग राखिए पनि समाधान नआएपछि स्थानीय अगुवा र जनप्रतिनिधिहरूको नेतृत्वमा पुनर्निर्माण थालिएको थियो । पुल निर्माणका लागि पहल लिखु तामाकोसी-७ का डम्बरबहादुर थापा सहित स्थानीय र मन्थली नगरपालिका-२ को समन्वयमा गरिएको थियो। 

स्थानीयवासीको श्रमदान, आर्थिक सङ्कलन र वडा कार्यालय तथा नगरपालिकाको सहकार्यमा काम सफलतापूर्वक सम्पन्न भएको हो। मन्थली नगरपालिका-२ का स्थानीय मोहन कार्कीले पुल बनेपछि यात्रा गर्न सहज भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'बाढीले कल्भर्ट बगाएपछि बिरामी, बुढाबुढी, विद्यार्थी सबैलाई आउजाउमा ठुलो समस्या थियो। अहिले पुल बनेपछि ठुलो राहत भएको छ।'

कल्भर्ट निर्माणमा करिब ११ लाख रूपैयाँ खर्च भएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनुभयो। उहाँकाअनुसार नगरपालिकाबाट ४ लाख ५० हजार रूपैयाँ प्राप्त भएको थियो भने बाँकी रकम डम्बर बहादुर थापाको नेतृत्वमा स्थानीय, व्यवसायी, समाजसेवी र विभिन्न सहयोगीको आर्थिक योगदानबाट सङ्कलन गरिएको हो।

वडाध्यक्ष कार्कीले जनसहभागिता र स्थानीय तहको सहकार्यले सम्भव भएको यो कार्यलाई उदाहरणीय भन्दै सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, 'स्थानीय तह र जनसहयोगको समन्वयले सडक पुनः सञ्चालन सम्भव भयो, जसले यहाँको जनजीवनलाई सहज बनाएको छ।'

पुनः सञ्चालनमा आएको वैकल्पिक मार्गले मन्थली-धोबी हुँदै विभिन्न गन्तव्यमा आवतजावत सहज बनाएको छ भने आपत्कालीन अवस्थामा पनि महत्त्वपूर्ण राहत पुग्ने विश्वास लिइएको छ। यसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।