व्यक्तिगत अनुभव र भोगाइ जब लेखाइमा आउँछन् ती सार्वजनिक सम्पत्ति बन्छन् । जहाँ इतिहास, भूगोल, समाज, समय, सभ्यता र संकेतहरुसहितको शिक्षा भेटिन्छ । लेखकले जे हो त्यो साँच्चै इमानपूर्वक लेखेको छ भने त संग्रहयोग्य दस्तावेज नै बन्छ । आत्मवृतान्त वा अनुभव एउटा त्यस्तै साहित्य हो जुन एउटै कृतिले त्यो समयको सभ्यताका बहुआयामिक पक्षलाई उजागर गरेको हुन्छ ।
एउटा समय तर धेरै विषय र प्रवृत्तिलाई बडो रोचक र मर्मस्पर्शी ढंगले बताउने त्यही सार्वजनिक सम्पत्ति बनेर बजारमा आएको पुस्तक हो, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलको ‘फर्केर हेर्दा’ । प्राध्यापक मात्रै नभएर राजनीतिक रुपमा कुनै समयमा सक्रिय वामपन्थी नेता-कार्यकर्ता, लेखक, सम्पादक, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालय सेवा आयोगको सदस्यसमेत भएका पोखरेलको पुस्तक जीवन भोगाइको सँगालो हो । र, यसले समय, पात्र र प्रवृतिका धेरै विषयलाई उजागर गरेको छ । भूमिकामै विश्लेषक झलक सुवेदीले लेख्नुभएको छ, ‘यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवनकथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो ।’
समसामयिक राजनीतिबारे कृष्ण पोखरेलको विश्लेषण र टिप्पणी प्रायः खरो हुनेगर्छ । हुन त उहाँका राजनीतिकशास्त्रका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन् । तर ‘फर्केर हेर्दा’ पुस्तक अनुभवमा आधारित भए पनि राजनीतिदेखि समाज अध्ययनको गहकिलो कृति हो । पुस्तक लेखकको मपाइँत्व वा उपदेशमा आधारित छैन । त्यसो त आफैंले भन्नुभएको छ- ‘मेरो यो लेखन आफ्नो र आफ्नो परिवेशबारेको इमान्दार अभिव्यक्ति हो । यसमा बनावटीपन पटक्कै छैन ।’
‘फर्केर हेर्नु’ भनेको आज जहाँ जस्तो अवस्था छ, त्यहाँबाट पछाडि फर्कनु हो । योजनावद्द जिन्दगी हिँड्नेहरु वा गन्तव्यको रेखा कोरेर अघि बढ्नेहरु हम्मेसी फर्केर हेर्दैनन् । तर, जो अविश्रान्त हिँड्छन्, हिँड्दा हिँड्दै अगाडिको लक्ष्य यकिन पनि हुन्न, उनीहरु भने फर्केर हेर्छन्, कति हिडेँ र कहाँ आइपुगेँ भनेर । कृष्ण पोखरेलको यो पुस्तक पनि निरन्तर हिँड्दाको एउटा इतिहास हो, जसले नेपालको कम्युनिष्ट आन्दोलनको उद्भव थलो झापा विद्रोहको यथार्थदेखि सत्ता र शक्तिको मोलमोलाइले बेथितिको चाङसम्मलाई उजागर गरेको छ ।
कहिले काँही पुस्तक पढ्दा त्यहाँका शव्दहरुले विषय, समय, पात्र र प्रवृत्तिमा आफूलाई देखिन्छ । आफूले देखेर भोगेका मान्छेहरु पनि भेटिएजस्तो लाग्छ । यो पुस्तकमा पनि धेरैले कहीँ न कहीँ आफूलाई भेट्छन् चाहे त्यो कर्मका रुपमा होस्, चाहे इमानपूवर्क यात्रामा होस् वा असरल्ल जिन्दगी भोग्ने पात्रका रुपमा । पुस्तकले विराटनर र झापाको करिब ७ दशक पुरानो समयलाई गजबले देखाएको छ । त्यो बेलाको समाज, शिक्षा, राजनीति, सामाजिक अवस्थादेखि नेताहरुको कार्यशैली र चरित्र सरल र सहज रुपमा बुझ्न सघाउँछ ।
आफू मार्क्सवादी अध्ययनमा गहिरो रुचीकै कारण राजनीतिमा होमिएको तर पूर्णकालीन हुन नसकेको प्रसंगसँगै कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नेकपा एमालेका नेताहरु मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला, माधवकुमार नेपाल र केपी शर्मा ओलीलगायत दर्जनौं राजनीतिक व्यक्तिसँगका सामिप्यताको सन्दर्भ लेखकले स्मरण गरिरहँदा तत्कालीन राजनीति देखिएको इमान र निष्ठा अनि अहिलेको छलकपटपूर्ण सत्तामोहलाई सजिलै बुझ्न सकिन्छ ।
कति कुरा लेखिए, कति लेखिएनन् त्यो लेखकलाई नै थाहा होला । तर, आफ्नो मपाइँत्व र गल्ती-कमजोरी ढाकछोपका रुपमा पुस्तक आएको छैन । एसएलसी फेल भएको स्वीकारोक्ति होस् वा उम्मेदवारसँगको अन्तर्वार्ता भनेर आफैंले तयार पारेर छापेको प्रसंगदेखि प्राध्यापनमा हुँदाहुँदै राजनीतिक नियुक्तिका लागि धाएको तर नपाएको र पाएको कुरा सहज स्वीकारेरै उल्लेख गरिएको छ । बनाबटी कतै लाग्दैन । जसले लेखकलाई शंका र अविश्वासभन्दा इमानदार व्यक्तिका रुपमा बुझ्न सघाउँछ ।
महाकाली सन्धि प्रकरणले नेकपा एमालेमा चर्केको आन्तरिक किचलो र महासचिव माधवकुमार नेपाललाई हटाएर झलनाथ खनाललाई बनाउने आफूहरुको गोप्य योजना कसरी अघि बढ्यो, सीपी मैनालीलाई कसरी मनाउने प्रयास भयो र कसका कारणले किन तुहियो भन्नेबारे पुस्तकमा खुलस्त पारिएको छ । ‘झलनाथजीलाई मनाउने जिम्मा लिएका साथीहरुको प्रयासले पनि आशातीत परिणाम ल्याएको थियो । उहाँ यो योजनामा नदेखिने गरी लाग्न सहमत हुनुभयो । वामेदवजी र आरेक त पहिलेदेखि नै तयार हुनुहुन्थ्यो । प्रस्ताव विधिवत पार्टीमा दर्ता त भयो तर यसले पार्टीभित्र र बाहिर सबैतिर तीव्र प्रतिक्रिया जन्मायो ।’ पृष्ठ १५३
‘मैले एकदिन वामदेवजीलाई फोन गरेँ । मैले कुरा राख्न नपाउँदै उहाँ त मज्जाले हाँस्नु भयो । म पनि छक्क परेँ । भएछ के भने, हामीलाई सीपीकहाँ भेटेको कुरालाई सीपीले गुटबन्दी गरिरहेको र आफूले त्यसलाई रङ्गेहात पक्रेको भनी महासचिवले वामदेवजीलाई सुनाउनु भएछ । यो सूचनाको अभिप्राय वामदेवजी र सीपीका माझ विश्वासको सङ्कट खडा गर्ने रहेछ । उहाँले भन्नभुयो– विचरा माधव कमरेडलाई तपाईँहरु मैसँग सल्लाह गरेर त्यहाँ जानु भएको हो भन्ने के थाहाँ ? पार्टीभित्र यस्तो खेलका सबैभन्दा दुर्दान्त खेलाडी केपी नै हो । त्यसको पछिल्लो दृष्टान्त केपीको पार्टी अध्यक्षमा उदयदेखि अहिलेसम्मको अवस्था हो । । ’पृष्ठ १५४
लेखकले झापा विद्रोहलाई राजनीतिमा रुपान्तरण गर्ने श्रेय भने सीपी मैनालीको नेतृत्व र माधव नेपालको साथलाई दिनुभएको छ । बिर्सन नसकिने पात्र भनेर मनमोहन अधिकारी र भरतमोहन अधिकारीलाई आफ्नो आदर्शका रुपमा प्रस्तुत गरिएको छ । मोहनचन्द्र अधिकारी, पद्मरत्न तुलाधर, महेश उपाध्याय, कमल कोइराला जस्ता नेता र भक्तराज आचार्य तथा द्रोणाचार्य क्षेत्री जस्ता मित्र तथा सानिमा नन्दकुमारी तथा भाई शम्भु र जयन्ती खतिवडा, विद्यार्थी जितेन्द्र बस्नेतप्रतिको बुझाइ र भोगाइ पढ्दा कतै रोकिन मन लाग्दैन ।
लेखक पोखरेलको प्रेम प्रसंग पनि बडो रोचक लाग्छ । आफू विराटनगरदेखि झापासम्म दौडधुप गरिरहँदा बिरामी आमाको हेरचाह गर्ने एउटी अपरिचित नर्स सरस्वती अर्थात् सरु कसरी आफ्नो प्रेमिका बनिन्, आमाले धर्ती छाड्नुअघि उनलाई घरपरिवारबारे के-के बताउनुभयो र उनी कसरी आफ्नो जीवनसंगिनी बनिन् भन्ने सन्दर्भ फिल्मी कथा जस्तो छ । उहाँले आफ्नो मात्रै होइन छोरा सुदिनको प्रेम प्रसंग र बिहेको सन्दर्भ पनि संक्षिप्त र रोचक पाराले उल्लेख गर्नुभएको छ ।
त्यसबाहेक अरु धेरै आफूले देखेको, भोगेको र अनुभूत गरेको समय परिस्थिति र घटनाक्रमलाई जीवन्त रुपमा पुस्तकमा लेखिएको छ । सुकुमारीको प्रेरणाले राजनीतिशास्त्र पढ्न पुगेको, मेची महाविद्यालयमा शिक्षक–विद्यार्थी सम्बन्ध, विद्यार्थी राजनीति, कलिलो उमेरमा नै कलेजमा प्राध्यापन गर्दा कतिले पत्यार नगरेकोदेखि राजनीतिकरणबाट ग्रसित भएको विश्वविद्यालय र लोकसेवा आयोगलाई निष्पक्ष बनाउन आफूले खेलेको भूमिकाबारेका सन्दर्भहरु निकै चाखलाग्दा र मननयोग्य छन् । शिखा बुक्सले प्रकाशन गरेको ३३२ पेजको प्राध्यापक कृष्ण पोखरेलको पुस्तक ‘फर्केर हेर्दा’ स्मृतिको सँगालो मात्रै होइन, हिजोदेखि आजसम्मको यथार्थ देखाउने आँखीझ्याल पनि हो ।