काठमाडौं । साहित्यिक पत्रकार संघले वर्ष २०८१ को 'व्यथित काव्य सम्मान कवि मणि लोहनीलाई र 'व्यथित काव्य डायस्पोरा सम्मान कवि सुरेन उप्रेतीलाई प्रदान गर्ने भएको छ ।
संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यस वर्षको व्यथित काव्य सम्मान लोहनी र उप्रेतीलाई दिने निर्णय गरेको हो ।
युवा पुस्ताका चर्चित कवि/ कथाकार मणि लोहनी पेसाले टेलिभिजन पत्रकार हुनुहुन्छ । मानिसका प्रेम र सम्बन्धमाथि कविता/कथा लेख्ने उहाँले पछिल्लो समय मृत्यु र त्यसपछिको महाशून्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गर्नुभएको छ । युवा वर्ष मोती पुरस्कार, राष्ट्रिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथा पुरस्कार लगायत दर्जन पुरस्कार र सम्मानबाट सम्मानित लोहनीका कथा र निबन्ध विद्यालय स्तरमा पढाइ हुन्छ ।
कवि लोहनीका आन्दोलनले छट्पटाएका कलमहरु, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविता कृतिहरुसहित असहमतिका पाइलाहरु, परास्त प्रेम, निर्वस्त्र मन कथाकृतिहरु प्रकाशित छन् ।
यसैगरी 'व्यथित काव्य डायस्पोरा सम्मान'बाट सम्मानित कवि उप्रेतीको आजका स्वरहरु कविता सग्रह २०५३ प्रकाशित छ । २०३९ सालमा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गर्ने गरिन्छ ।