राज्यको चरित्र देखाउने उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक

असार ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राज्यको चरित्र देखाउने उपन्यास ‘इजाजतपत्र’ सार्वजनिक

काठमाडौं । सार्थक कार्कीको उपन्यास 'इजाजतपत्र' सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच पूर्व मुख्यसचिव विमल कोइराला, समालोचक कुमारी लामा र समीक्षक एवं सम्पादक राजकुमार बानियाँले कार्कीको उपन्यास इजाजतपत्र लोकार्पण गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकमा कार्यरत कार्कीको यो पहिलो आख्यान हो । उपन्यास इजाजतपत्रमा राज्य संयन्त्रले जनतालाई सेवा दिँदा कति हैरान बनाउँछ भन्ने विषय सरल ढंगले उजागर गरिएको पूर्व मुख्यसचिव कोइरालाले बताउनु भयो । राज्य संरक्षक हो कि नियन्त्रक भन्ने सवालमा पुस्तकले प्रश्न उठाएको कोइरालाको भनाइ थियो । उहाँले भन्नुभयो, 'उपन्यासको बिसयवस्तु मार्मिक छ, यो नेपाली साहित्यको उत्कृष्ट काव्याख्यान हो ।'

समालोचक लामाले नेपालको प्रशासन संयन्त्रले नागरिकमाथि थोपरेको सास्तीलाई उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको बताउनु भयो । लामाले भन्नुभयो, 'यो उपन्यासमा डार्क ह्युमर प्रसस्त छ । यसले प्रशासनको मात्र नभई कला, साहित्य, दर्शन, अध्यात्मलाई पनि उत्तिकै चोटिलो रुपमा प्रस्तुत गरेको छ ।'

समीक्षक एवं सम्पादक बाँनियाले इजाजतपत्र पहिलो उपन्यास भईकन पनि कार्कीले नेपाली साहित्यलाई अब्बल आख्यान दिएको बताउनु भयो । बानियाँले नेपाली साहित्यमा एउटा जिम्मेवार लेखकको उदय भएको बताउँदै कार्कीको लेखनीको प्रसंशा गर्नुभयो ।

उपन्यास इजाजतपत्रमा लेखकले राज्य नागरिकको अभिभावक हो कि साथी ? शासक हो कि सेवक ? यिनै संवेदनशील प्रश्नहरु उठाउनु भएको छ । सांग्रीला बुक्सले प्रकाशन गरेको इजाजतपत्रको मूल्य २९५ रुपैयाँ रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement