राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पित

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पित

काठमाडौं । वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ काठमाडौंमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताउनुभयो । उहाँले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गर्नुभयो ।

संस्मरण कृतिमा राजकर्णिकारका पुर्खाले गरेका संघर्षका दिन, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठ्यारा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको धारणा राख्नुभयो । अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गर्नुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेका संस्मरणमा लेखकले आफूलाई सकेसम्म महान् बनाउने गरेकामा साहित्यकार राजकर्णिकारले पाठकसँग इमानदार भएर यो कृति लेखेको बताउनुभयो ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कथाकार पद्मावती सिंह, महासचिव देविका तिमिल्सिना, नील ताम्राकार र रञ्जना निरौलाले आ-आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.