चुँदी रम्घा डाँडामा ‘भानु साहित्य उद्यान’को गुरुयोजना, राष्ट्रपतिको विशेष रुचि

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
चुँदी रम्घा डाँडामा ‘भानु साहित्य उद्यान’को गुरुयोजना, राष्ट्रपतिको विशेष रुचि

तनहुँ । तनहुँको भानु नगरपालिका र भानु साहित्य उद्यानले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भानु साहित्य उद्यानको अवधारणापत्र प्रस्तुत गरेका छन् । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई नेपाली राष्ट्रिय एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण गर्न लागिएको हो ।

राष्ट्रपति पौडेलको गृह जिल्ला समेत रहेकाले राष्ट्रपतिकै चासो र सक्रियतामा चुँदी रम्घा क्षेत्रलाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित गुरुयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो । २०७८ मा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख संरक्षक रहने गरी भानु साहित्य उद्यान नामक संस्थाको स्थापना गरिएको थियो । सो संस्थाले गुरुयोजना सम्पन्न गर्नका लागि ४ सय रोपनीभन्दा बढी जग्गा प्राप्तिको प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।

गुरुयोजना अनुरुप रम्घाकोटको शिखरमा एक सय फिट उचाइको भानुभक्त आचार्यको विशाल प्रतिमा स्थापना गरिने छ । प्रतिमाको स्वरुप हाल प्रचलित भानुभक्तको फोटो अनुरुप नै रहने बताइएको छ । सोही कोटमा भानुभक्तको कृतित्वलाई सजीव बनाउने परिकल्पनाका साथ विशाल रामायण मन्दिरको समेत स्थापना गरिने भएको छ । जहाँ मन्दिरको केन्द्रमा राम र सीताको मूर्ति रहने, मन्दिरका भित्तामा रामायणका सातै काण्ड, लघुकृति, फुटकर कविता, चित्रकला तथा मूर्तिकलाहरु रहने भानु साहित्य उद्यानका उपाध्यक्ष प्राडा व्रतराज आचार्यले बताए ।

सो क्षेत्रमा मूर्ति बाटिका समेत रहनेछ । जसमा नेपाली भाषा, साहित्य, संस्कृति र कला क्षेत्रका स्रष्टाहरूको मूर्ति पनि स्थापना गरिनेछ । साथै भानु साहित्य ग्रामको पनि निर्माण हुनेछ । जहाँ परम्परागत शैली झल्काउने सुविधासम्पन्न आवास गृह, सिर्जनात्मक कार्यका निम्ति आवास, स्थानीय जातीय पहिचानका घरहरु निर्माण हुने भानु साहित्य उद्यानका अर्का उपाध्यक्ष काशीराज आचार्यले बताए ।

गुरुयोजना अनुरुप चुँदी रम्घाकोटमा २ सय व्यक्ति क्षमताको भानु प्रज्ञा भवनको पनि निर्माण गरिनेछ । भानुभक्तसँग सम्बन्धित सामग्रीहरू संरक्षण गर्न तथा भाषा, साहित्य, संस्कृति सम्बन्धि गतिविधिहरू सञ्चालन गर्न सो भवन निर्माण गरिनेछ । जहाँ दुई साना सेमिनार हल, पुस्तकालय र सङ्ग्रहालय समेत रहनेछ ।

गुरुयोजनामा अर्को आकर्षणका रुपमा सप्तधाम रहेको छ । उद्यानलाई समग्र नेपाली संस्कृति झल्कने लघु संरचनाका रूपमा विकास गर्न नेपालको भूवनोट अनुसार हुनेगरी सप्तधाम निर्माण गरिन लागेको हो । जहाँ सातै प्रदेशका प्रमुख धार्मिक-सांस्कृतिक धाम निर्माण गरिनेछ । जसअन्तर्गत कोशी प्रदेशको बराहक्षेत्र धाम, मधेश प्रदेशको जनकपुरधाम, बाग्मती प्रदेशको पशुपतिनाथ धाम, गण्डकी प्रदेशको मुक्तिनाथ धाम, लुम्बिनी प्रदेशको लुम्बिनी धाम, कर्णाली प्रदेशको चन्दननाथ धाम र सुदूरपश्चिम प्रदेशको वैद्यनाथ धाम रहनेछ । सो सप्तधाममा तत्तत् प्रदेशका सांस्कृतिक पहिचान झल्कने संरचना समेत निर्माण हुनेछ । यसका साथै, गुरुयोजनाभित्र भानु बोटानिकल गार्डेन, मनोरञ्जन तथा वनभोज स्थल, स्थानीय पदमार्ग, प्राकृतिक वन–विचरण क्षेत्र आदि पनि रहनेछ ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले तनहुँ क्षेत्र सप्त गण्डकी क्षेत्र समेत रहेकाले सात प्रदेशको सात धाम बनाउने कुरा प्रशंसायोग्य रहेको बताए । गुरुयोजनाप्रति खुसी व्यक्त गर्दै राष्ट्रपति पौडेलले भने, 'चुँदी रम्घा क्षेत्र समग्र नेपालीले गौरव गर्न लायक र साहित्यप्रेमीका लागि पवित्र तीर्थस्थलका रुपमा विकास हुनेमा ढुक्क छु ।'

राष्ट्रपतिसमक्ष अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रममा तनहुँ स्थायी घर भई विभिन्न जिल्लाबाट निर्वाचनमा विजयी सांसदहरुको समेत उपस्थिति थियो । संघीय सांसद प्रदीप पौडेलले गुरुयोजनामा भौतिक संरचनाको निर्माणसँगै भानुभक्तको योगदानलाई डिजिटलाइज गर्न पनि आवश्यक रहेको बताए ।

सांसद कृष्णकुमार श्रेष्ठले गुरुयोजना राष्ट्रले नै गौरव गर्ने खालको भएको हुँदा यसलाई सम्पन्न गर्न ठूलो आर्थिक स्रोतको आवश्यकता पर्ने भएकाले सबैले सहयोग गर्नुपर्ने र त्यसमा राष्ट्रपतिको विशेष पहलकदमी आवश्यक हुने बताए ।

कार्यक्रममा अर्का सांसद शिशिर खनालले पनि भौतिक संरचनाको निर्माणसँगै यसलाई डिजिटल्ली ब्रान्डिङ र प्रमोसन गर्न आवश्यक रहेकोमा जोड दिए ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु चुँदी रम्घामा यो खालको गुरुयोजना बन्नु स्थानीयका लागि सौभाग्य भएको भन्दै आफ्नै कार्यकालमा यो काम सम्पन्न गर्न रातदिन खटेर काम गर्ने जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.