
काभ्रेपलाञ्चोक । गत वर्ष असोज १२ गतेको विपद्मा आवास गुमाएका काभ्रेका नागरिक अझै पनि आफन्तको साहारा वा अस्थायी टहरामै बस्न बाध्य छन् ।
यो वर्ष असोज १७ र १८ गतेको अबिरल वर्षाले थप क्षति गरेपछि उनीहरू झन् त्रासमा छन् । दुवै विपद्मा क्षति बेहोरेका नागरिकलाई राज्यले सुरक्षित बसोबासको आश्वासन दिइरहँदा आफ्नो अवस्थाप्रति ठट्टा गरेझैँ लागेको छ । सरकारले निजी आवास पुनर्निर्माण अघि बढाउन भन्दै सुरू गरेको डिजास्टर ड्यामेज असेस्मेन्ट -डीडीए प्रक्रिया सुरू भए पनि काभ्रेका पीडितले त्यसमा पटक्कै अपनत्व लिनसकेका छैनन् ।
गत वर्ष असोजको विपदुमा जिल्लाका १३ वटै स्थानीय तह प्रभावित हुँदा ७९ जनाले ज्यान गुमाएका थिए भने ६ जना अझै बेपत्ता छन् । त्यतिबेला बाढीपहिरोमा काभ्रेभर निजी आवास ३ हजार १ सय, राजमार्ग, सार्वजनिक सम्पत्ति, विद्यालय, कृषि बाली र खेतीयोग्य जमिनमा गरी अर्बौको क्षति भयो । फेरि यस वर्ष असोज १७ र १८ गतेको अबिरल वर्षाले पुरानो घाउ नपुरिँदै धेरै संरचनामा क्षति पुगेको छ ।
यो विपदमा काभ्रेमा २ जनाको ज्यान गयो भने रोशी खोलाले बीपी राजमार्ग र व्यक्तिगत सम्पत्ति बगायो । गत वर्ष र यस पटक पनि ठूलो क्षति बेहोरेको पनौती नगरपालिका वडा नं १२ का पीडितहरू जथाभावी सञ्चालन गरिएका खानी र क्रसरकै कारण आफ्नो उठीबास लागेको गुनासो गर्छन् ।
गत असोजमा आएको भन्दा सानो बाढी आउँदा पनि रोशी खोलाको यसपटक धेरै क्षति गरेको देख्दा क्रसरले जथाभावी फालेका ढुंगा रोडाकै कारण यो अवस्था आएको हो भन्ने पीडितको कुरालाई बल दिन्छ । क्षति आकलन सुरू भएको करिब छ महिनामा रोशी गाउँपालिका र पनौती नगरपालिकाले डीडीए पूरा गरेका छन् भने अन्य दुई पालिकाले दोस्रो किस्ताको भुक्तानी लिएका छन् ।
गत साल ५५० घरधुरी पूर्ण क्षति भएका पनौतीमा यस पटक पनि २३ घर पूर्णरूपमा क्षति पुगेको छ । पनौतीको स्थानीय सरकार प्रमुखले आफू निर्वाचित भएर आएपछि कुनै पनि खानी वा क्रसर व्यवसाय सञ्चालनको अनुमति नदिएको बताइरहँदा सञ्चालनरत खानी र क्रसर उद्योगहरू नियमन गर्नसकको भन्ने जवाफ दिन सक्दैन ।
काभ्रेका १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति नमोबुद्ध र पनौती नगरपालिकासागै बेथानचोक, तेमाल, भुम्लु, खानीखोला र महाभारत गाउँपालिकामा भएको छ । यी स्थानीय तहको विस्तृत क्षति आकलनको पूर्ण तथ्यांक अझै सार्वजनिक भएको छैन भने धेरै नागरिक अझै अस्थायी टहरामै छन् ।