
कञ्चनपुर । आर्थिक अभावका कारण नेपाली राष्ट्रिय एम्पुटी फुटबल टिम आगामी वर्ष कोस्टारिकामा हुने विश्वकप प्रतियोगिताको एसिया छनोट खेल्न नपाउने लगभग निश्चित भएको छ ।
हवाई यातायात भाडा र प्रवेश शुल्क बापत ४ हजार ५ सय डलरको जोहो गर्न नसक्दा प्रतियोगिताबाट बञ्चित हुने स्थितिमा पुगेको एम्पुटी खेलकुद समाज नेपालका महासचिव डिल्लीबहादुर विष्टले बताए । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल पारा ओलम्पिक कमिटीलगायतका निकायमा बारम्बार पहल गरे पनि आर्थिक समस्या सम्बोधन हुन नसकेको गुनासो विष्टले गरे ।
विषेश क्षमता भएका खेलाडी सहभागी हुने यस खेलमा एउटा खुट्टा भएका व्यक्तिले मैदान सम्हाल्छन् भने गोल पोस्टको जिम्मेवारी एउटा हात नभएका एथलिटले निर्वाह गर्छन् । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रपमा गत फेब्रुअरीमा प्रथम एसियन च्याम्पियनसिप २०२५ मा सहभागिता जनाएको थियो । नेपाल, बंगलादेश, इन्डोनेसिया, इराक र उज्वेकिस्तान गरी ५ देश सहभागी यो प्रतियोगिताको आर्थिक भारसमेत खेलाडी स्वयमले बेहोरेका थिए ।
आर्थिक अभावकै कारण विश्वकप छनोट जस्तो महत्वपूर्ण प्रतियोगिता गुमाउनु निकै दु:खद रहेको एम्पुटी खेलकुद समाज नेपालका संस्थापक अध्यक्ष मदनमान सिंह रोकायाले बताए । विश्व एम्पुटी फुटबल महासंघको आयोजनामा हुने विश्वकप २०२६ मा २६ राष्ट्रिले प्रतिस्पर्धा गर्ने छन् । प्लेइङ सेट सेभेन 'ए' साइड हुने यस प्रतियोगितामा एसियाबाट ४ टोली छनोट हुने छन् । एसिया छनोट आगामी नोभेम्बर ९ देखि १५ सम्म इन्डोनेसियामा हुने छ ।