पोखरामा साहित्य महोत्सव जारी, ५८ बढी सेसनमा ३ सय वक्ताहरुबीच अन्तरसंवाद

फाल्गुन ५, २०८० |भुपाल गुरुङ
पोखरामा साहित्य महोत्सव जारी, ५८ बढी सेसनमा ३ सय वक्ताहरुबीच अन्तरसंवाद

पोखरा । पोखरामा तीन दिनदेखि नेपाल साहित्य महोत्सव जारी छ । 

बुकवर्म फाउण्डेसनको आयोजनामा फेवाताल किनार बाराहीघाटमा जारी ११औँ संस्करणको महोत्सवमा आज भूपी र अलिमियाँ गरी दुई कक्षमा ११ वटा सेसन भएका छन् । 

बिहान ११ बजे सुरु भएको पहिलो सेसनमा विश्व चर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड, ‘क्लाउड’ सँग कुन्द दीक्षितले संवाद गरे । त्यसैगरी संकटमा अभिव्यक्ति स्वतन्त्रता विषयमा कुन्दन अर्याल, भूषण दाहाल, सन्तोष सिग्देल र अन्जनाकुमारी अर्यालसँग सञ्चारकर्मी श्री पाण्डेले अन्तरसंवाद गरिन् ।

आजै ‘अर्थमन्त्री हुनुको अर्थ’ विषयमा पूर्वअर्थमन्त्रीहरु वर्षमान पुन र सुरेन्द्र पाण्डे, ‘प्रदेशका पिर’ विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, ‘कति लोकतान्त्रिक दलहरु’ भन्ने विषयमा मीनबहादुर विश्वकर्मा, सुचेता प्याकुरेल, पदम गिरी र माभव सापकोटाबीच राजनीतिक बहस भयो ।

फागुन ७ गतेसम्म चल्ने महोत्सवमा ‘फेवाताल पारिका कथा,’ आर्थिक मन्दीले पारेका प्रभावलगायत पोखरा सेरोफेरोका विषयमा ५८ बढी सेसनमा करिब ३ सय जना वक्ताहरुबीच बहस, छलफल र अन्तरसंवाद हुने आयोजकले बताएको छ ।

हरेक साँझ कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डले संगीतिक माहौल बनाउने छन् ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डला काठमाडौंबाट सुरु भएको महोत्सवको छैटौँ संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।